१४ असार २०८३, आइतबार

हिजो दिनभर : हवाइ उडानमा जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय, लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस

बैशाख १४, २०७७
हिजो दिनभर : हवाइ उडानमा जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय, लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस

कांग्रेसले भन्यो- विदेशमा रहेका नेपालीको उद्धारमा पनि तदारुकता बढाउन जरुरी

नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको परिस्थितिमा नेपाल सरकारले मुलुकभित्रका र मुलुक बाहिर रहेका सबै नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गरी महामारीविरुद्ध लड्नुपर्ने र अभिभावकत्व प्रदान गर्नुपर्ने जनाएको छ। 
     
कांग्रेसले स्वदेशमा रहेका नेपालीका साथै विदेशमा रहेका करिब ५० लाख नेपालीको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमबारे छलफल गरी विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई पनि राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी रहेको उल्लेख गरेको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक वक्तव्यमार्फत विदेशमा रहेका नेपालीबारे काँग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटकपटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएको उल्लेख गराएका हुन्। 
 
हालसम्म विश्वभर करिब एक हजार २०० भन्दाबढी नेपाली कोरोनाबाट सङ्क्रमित भएका र करिब ५० नेपालीको मृत्यु भइसकेको उल्लेख गर्दै उहाँले नेपालीलाई सङ्क्रमणबाट जोगाउने र सङ्क्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन सङ्गठित पहल जरुरी रहेको बताए। कांग्रेसले सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र सङ्गठित गर्न जरुरी रहेको उल्लेख गर्दै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्नुपर्ने जनाएको छ।  

लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस

लकडाउन एक हप्ता लम्ब्याउन सरकारलाई सिफारिस गरिएको छ। 

११ चैतदेखि लागू भएको लकडाउन बेलाबेला लम्ब्याएर १५ वैशाखसम्म पु¥याइएको छ। तर, पछिल्लो पटक थपिएको लकडाउन सकिनै लाग्दा मुख्सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन थप एक साता लम्ब्याउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।

गर्भवती महिलालाई प्रसूति अस्पतालको अपिलः ठूलो समस्या नपरी अस्पताल नआउनू

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती तथा सुत्केरी महिलालाई ठूलो समस्या नपरी अस्पताल नआउनु सुझाव दिएका छन्।

लकडाउनका कारण स्वास्थ्य उपचारमा समस्या भइरहेको प्रति सरकारको आलोचना भइरहेका बेला निर्देशक गौतमले गर्भवती र प्रसूति महिलाले यो अवस्थामा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार पुगेका निर्देशक गौतमले भने, ‘ज्वरो आएमा, जीउ सुन्निएमा, रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जानुपर्छ, होइन भने यो अवस्थामा घरमै बस्नु होला।’ गौतमले गर्भवती महिलालाई नियमित साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजाउन र नियमित औषधि सेवन गर्न अनुरोध गरेका छन्।

प्रसूति अस्पतालले प्रसूतिका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ। कोरोना संक्रमित गर्भवती महिला भएमा उनीहरुलाई प्रसुति गराउन छुट्टै कक्षको स्थापना गरिएको हो। उनीहरुका लागि अस्पतालमा छुट्टै अप्रेसन कक्ष पनि रहेको उनले जनाए।
 

देशभर १२ जनालाई कोरोना संक्रमण निको, विराटनगरमा धेरै संक्रमितको उपचार हुँदै

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा नेपालमा हालसम्म १२ जना निको भएका छन् ।

देशभर हालसम्म ४९ जना कोरोना संक्रमित पुष्टि भएकोमा १२ जना निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय पुरुषको पछिल्ला दुवै परीक्षण ‘नेगेटिभ’ आएपछि डिस्चार्ज गरिएको छ । यसअघि शुक्रवार बाग्लुङकी महिलालाई डिस्चार्ज गरिएको थियो ।

झापाको दमकमा शुक्रवार संक्रमण पुष्टि भएका ६२ वर्षीय पुरुषका छोरा छोरा चैत ४ गते दुबईबाट आएका र आरडीटी पोजेटिभ देखिएपछि पीसीआर टेस्ट गर्दा ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले बताए ।

हाल देशभर ३७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये धनगढीमा १, वीरगञ्जमा ५, भरतपुरमा १ र विराटनगरमा ३० जना रहेका छन् ।

हवाइ उडानमा जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा शनिवार बसेको समितिको बैठकले लकडाउन बढाउने/नबढाउनेबारे मन्त्रिपरिषद्लाई सुझाव दिन छलफल गरेपनि निर्णय सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले समितिको बैठक प्रदेशहरूसँग समन्वय गर्ने मन्त्रीहरूको पनि उपस्थिति रहेको जानकारी दिए ।

लकडाउनबारे मन्त्रिपरिषद्को आगामी बैठकबाट निर्णय हुने सचिव बिडारीले बताए । सरकारले वैशाख १५ गतेसम्म लकडाउनको अवधि बढाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्