२२ जेठ २०८३, शुक्रबार

ओलीलाई वामदेवको सुझाव– सचिवालयका सदस्यले जे भन्छन् त्यही मान्नुस्, अब ढिपी नगर्नुस् !

बैशाख १४, २०७७
ओलीलाई वामदेवको सुझाव– सचिवालयका सदस्यले जे भन्छन् त्यही मान्नुस्, अब ढिपी नगर्नुस् !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे स्थायी कमिटी बैठक बोलाएर छलफल गर्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । गौतमले ओलीलाई अब आराम गर्न पुनः सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको भेटमा गौतमले तत्काल स्थायी कमिटीको बैठक बोलाउन र त्यसअघि अविलम्ब सचिवालय बैठक राख्न सुझाव दिएका हुन् । ‘स्थायी कमिटी बैठक  भिडियो कन्फेन्स मार्फत गरेपनि हुन्छ, अरु माध्यम पनि छन् । ५० जनालाई बोलाएर सामाजिक दूरी कायम गरेर पनि बैठक गर्न सकिन्छ । पीपीइको व्यबस्था गरेर पनि बैठक राख्न सकिन्छ,’ गौतमले ओलीलाई भनेका थिए । 

गौतमले स्थायी कमिटीको बैठक नगरी नहुने काम भन्दै यसमा विलम्ब नगर्न ओलीसँग आग्रह गरे । ‘तपाईंले जुन परिस्थिती सिर्जना गर्नुभयो यो गर्नु हुन्नथ्यो । अध्यादेशको कुरा कानून वनाउन मिल्ने विषय हो भनेर मैले भनिसकेको छु, तर गलत समयमा ल्याएर हुने काम पनि बिगार्नुभयो,’ गौतमले भनेका थिए । 

उपाध्यक्ष गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै भूमिकामा असफल भएको भन्दै पार्टीका सदस्यहरूलाई चित्त बुझाउने काम गर्न सुझाव दिएका स्रोतले बतायो । ‘तपाईं असफल हो, पार्टीलाई चित्त बुझाउनुस, सचिवालय बैठकका सदस्यले जे भन्छन त्यही मान्नुस् । अब ढिपी नगर्नुस्,’ भन्दै गौतमले ओलीलाई भनेका थिए, ‘मैले सधैभरी तपाईंको हित हुने काम र सुझाव दिने गरेको छु ।’ 

राजनीतिक दल सम्बन्धी अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य सम्बन्धी अध्यादेश प्रकरणलाई लिएर नेकपा भित्रको विबाद चर्किएको छ । विकसित घटनाक्रमको विषयमा छलफल गर्न भन्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले लिखित हस्ताक्षरसहित स्थायी कमिटी बैठक बोलाउन ओलीसँग आग्रह गरेका छन् । 

‘सचिवालय बैठकमा सबै कुरा राख्नुस्, तपाई किन बैठकलाई वाइपास गर्नुहुन्छ ?’ गौतमले ओलीसँग भनेका थिए । स्रोतका अनुसार गौतमको कुरा सुनेपनि ओलीले कुनै जवाफ फर्काएनन् ।  

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले पनि तत्काल स्थायी कमिटी बैठक बोलाउन ओलीलाई दवाव दिएका छन् । ओली भने तत्काल बैठक बोलाउन अनिच्छुक देखिएको स्रोतको दावी छ । 
दल विभाजन गर्न सहज हुनेगरी ल्याइएको बिवादास्पद अध्यादेश, नेकपा सांसद र पूर्वप्रहरी महानिरीक्षक लगाएर समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितताले पार्टी बदनाम भएको भन्दै नेकपाका नेताहरूले सरकारको आलोचना गरिरहेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्