
पाकिस्तानमा चिकित्सक र नर्सहरूले कोरोनाभाइरस रोगीहरूको उपचार गर्दा आफूहरूलाई पर्याप्त सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने माग राख्दै शनिवारबाट भोक हडताल थालेका छन् ।
देशका अस्पतालमा सुरक्षा वस्त्रको चरम अभाव रहेको भनी स्वास्थ्यकर्मीहरूले हप्तौंदेखि गुनासो गरिरहेका छन् । अप्रिलको आरम्भतिर क्वेटा शहरमा थप स्वास्थ्य सुरक्षा सामग्रीको माग गर्दै विरोध प्रदर्शन गर्ने ५० भन्दा बढी चिकित्सकलाई पक्राउ गरिएको थियो ।
अग्रपंक्तिमा रहेर उपचारमा खटिएकाहरू बढी जोखिममा छन् । देशभरि १५० जना स्वास्थ्यकर्मीलाई भाइरस पोजिटिभ पाइएको योङ डक्टर्स एसोसिएसनले जनाएको छ ।
कोभिड–१९ का कारण पाकिस्तानमा थुप्रै चिकित्सक र नर्सहरूले ज्यान गुमाइसकेका छन् । भर्खरै करीयर शुरू गरेका २६ वर्षीय एक चिकित्सक अनि सरकारी अस्पतालमा विशेषज्ञका रूपमा काम गर्ने अर्का चिकित्सकको मृत्यु भएको एक अधिकारीले शनिवार जानकारी दिए ।
विरोध गर्ने चिकित्सकहरू लाहोरमा स्वास्थ्य अधिकारीको कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरू अस्पतालमा पालैपालो काम गर्दै अनि विरोधमा पनि सहभागी हुँदै गरेका छन् ।