०३ असार २०८३, बुधबार

कोरोना संकट : टोल सुधार समितिहरूको भूमिका खोइ ?

बैशाख १४, २०७७
कोरोना संकट : टोल सुधार समितिहरूको भूमिका खोइ ?

कोरोनाभाइरस (कोभिड (१९) ले यतिबेला सबैको मनमा डरको ढ्यांग्रो ठोकिरहेको छ ।

भाइरसले विश्व बजारको आर्थिक, नैतिक, सामाजिक, राजनीतिक, वैज्ञानिक सोच र क्षमतालाई तहस–नहस हुने गरी असर गरिरहेको छ ।

विश्वका सर्वशक्तिमान देशलाई समेत उठ्नै गाह्रो हुने गरी भाइरस संक्रमणले घेरा हालिरहेका बेला नेपाल मात्रै अछुतो रहने कुरै भएन । 

सर्वत्र कोरोना 

आर्थिक वृद्धिदर उच्च रहेका देशहरू त आत्तिरहेको अवस्थामा हाम्रोजस्तो दाता र रेमिट्यान्सको भरमा अर्थतन्त्रको आकंलन र वृद्धिदरको रेखांकनको ग्राफ बनाउने देशमा सबै क्षेत्रमा पक्कै असर गर्छ नै ।

भाइरसबाट मुक्त भएर साविकको अवस्थामा आउन त पछिका लागि चुनौती त छ नै, तर वर्तमान अवस्थामा कोरोनाभाइरस (कोभिड(१९) को फैलिँदो संक्रमण न्यूनीकरण नै विश्वका अन्य देशलाई जस्तै नेपाललाई पनि चुनौती छ । यसकारण पनि चुनौतीपूर्ण छ कि यो भाइरस विरूद्धको औषधी अहिलेसम्म आविश्कार र उत्पादन भएकै छैन ।

यो संक्रमणको चुनौती चिर्न र न्यूनीकरण गर्न विश्वले नै लकडाउन (बन्दा–बन्दी) को आकस्मिक विकल्प रोज्यो । नेपालले पनि अनुशरण गर्‍यो । जनस्वास्थ्यका लागि यो निर्विकल्प औषधी जस्तै भएपनि यसले सबै क्षेत्रलाई गम्भीररूपमा असर गरेको छ । त्यसमा पनि सबैभन्दा बढी गम्भीर असर दैनिक श्रम गरेर जीवन गुजारा गर्ने असंठित क्षेत्रका मजदुरलाई परेको छ । आफूसँगै परिवारको पेटको समस्या सम्बोधन गर्ने उद्देश्यले विभिन्न ठाउँबाट सीप बेचेर शहरमा ‘साहुको सपनाको घर’ र ‘शासकको सपनाको शहर’ बनाउने शिल्पकारहरू नै ‘रोगको भन्दा भोकका चपेटामा’ पिल्सिएर खाली पेटसँगै उज्यालो कोठाबाट अँध्यारो र अत्यासपूर्ण जीवनको आँखाबाट दूरदराजका अबोध स्वास्नी छोरा–छोरीको अनुहार टुलुटुलु नियालिरहेछन् । 

हो, हामी साँच्चै स्वार्थी भएछौं । त्यही मजदुरले बनाइदिएको तपाईंको सपनाको घरको छतबाट मिष्ठान्न व्यञ्जन भोजन गरी तृप्त शरीरबाट ‘ढ्याउ–ढ्याउ’ (अघाएको आवाज) आइरहका बेला तल छिँडीको अँध्यारो कोठामा निमुखाहरू भोकले मलिन अनुहार बनाएर सिलिङतिर टोलाइरहेका हुनसक्छन् । विडम्बना ! त्यस्ता असंगठित मजदुरहरू त सीप हुँदाहुँदै, काम पाएन, काम नपाएकै कारण भोको भयो । तपाईं संगठित भएर के प्रयास गर्नुभयो उसका लागि ? उसैले घर बनाइदिएपछि छिमेक बन्छ, छिमेक बनेपछि टोल सुधार समाजहरू जन्मिन्छ । आज ती टोलसुधार समितिहरू के गरिरहेका छन् ? 

हाम्रा हर खुशीसित तीनै असंगठित मजदुरहरूको श्रम जोडिएर आउँछ । हाम्रो सपनाको घरको ढल, पानी, बिजुल–बत्ती र बाटोको समस्यापूर्तिका हर समाधान उनै मजदुर हुन् । झिलिमिली चिनियाँ लाइटको मुनि बसेर, भारतीय संगीतमा तीज र तिहारमा देउसी–भैलो, बालन र संगिनी खेल्ने वातावरण बन्नुमा उनै मजदुरका पसिना जोडिएको छ । गाउँमा  परिवार रूवाएर हिँड्ने उनैले तपाईंको परिवारिक खुशीको माहोलमा योगदान गरेका हुन्छन् । विडम्बना, असंगठित भएर पनि हामीलाई मजदुरले धेरै दिए, तर हामी संगठित भएर पनि एक छाक खान दिन सकिरहका छैनौं यतिबेला । 

संकटका बेला सरकारले गर्नुपर्ने थुप्रै थिए होलान्, स्थानीय निकायले पनि प्रभावकारी काम गरेको देखिएको पनि छैन, उल्टै स्थानीय शासकको दम्भको ढ्वाङ फुक्दै हिँडिरहेका देखिन्छन् । तर, न्यूनतम मानवीय सेवा गर्ने हामी नागरिकलाई कसले छेकेको छ ? अनि यस्तो बेला चुपचाप रहेका देशभरका टोल सुधार समाजको औचित्य के ? नेपालीमा उखान छ, ‘मर्दाका मलामी जिउँदाका जन्ती’ । अब परिस्थिति यस्तो बन्दैछ कि यो उखान नै गलत साबित हुँदैछ । 

एउटा विरोधाभासपूर्ण घटना 

नयाँ वर्ष २०७७ को बिहानी । उपत्यकाका सडक किनारामा सुरक्षाकर्मीहरू काँधमा बन्दुक बोकेर सुनसान सडकको सुरक्षा गरिरहेका थिए । महिना दिनदेखि कोरोनाको कहरमा निसास्सिएका काठमाडौंवासीको उकुस–मुकुस घमाइलो दिनमा पग्लिँदै थियो । फोन, सामाजिक सञ्जाल र पारिवारिक सदस्यबीच सर्वत्र, कोरोनाभाइरसकै बहस भइरहेको थियो । टीभी र रेडियोमा सरकार भन्दै थियो, ‘वर्षभरिको कामको समीक्षा गर्ने बेला नयाँ जटिल परिस्थिति बनेको छ । सरकार यतिबेला सुदूरपश्चिमको संक्रमणमा केन्द्रित छ, काठमाडौंवासी पनि सतर्क बनौं, त्रसित नबनौं ।’ 

घडीको सुइले मध्याह्नको धर्काे छुँदानछुँदै काठमाडौंवासीलाई सन्त्रासको भयले छोप्यो । खबर थियो, चैत्र ४ गते बेलायतबाट आएर काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बसोवास गर्ने ३ जनालाई कोरोना टेस्ट गर्दा पोजेटिभ भएको आशंका र खबर सनसनी भयो । मिडियाले खोजतलास गर्दा संक्रमितहरू अपार्टमेन्टको वेलफेयर सोसाइटीको निर्वाचनमा मतदान गर्न संक्रमणसहित आएका रहेछन्, कस्तो विरोधाभास ? एउटा सानो समाजको चुनावमा आउँदा आमसमाजलाई नै खतरा पुग्ने स्थितिको निर्माण भयो । उक्त समाजको चुनाव त्यतिबेला नगर्दा के हुन्थ्यो ? अथवा कुनै अमुक समूहलाई जिताउन बेलायतदेखि जोखिम नमोल्दा के हुन्थ्यो ? अनि त्यस्ता समाजको आमसामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाउने कि नउठाउने ? 

किन चाहियो टोल सुधार समाज ? 

खासगरि त्यस्ता समिति, समाज या सोसाइटी समुदायको हितका लागि बन्ने हुन् । टोल सुधार समाजको अवधारणा पनि त्यसरी नै निर्माण भएको हो, तर यतिबेला समाजको हितका लागि बन्ने त्यस्ता केही समाज र समितिहरू स्थानीय योजनाको उपभोक्ता समिति गठन गरेर बिल मिलाइ कमाउधन्दा गर्नमै उद्त देखिन्छन् । मान्छेले मान्छे नचिन्ने, गरीब र मजदुरको समस्या नदेख्ने र निमुखालाई न्याय र विपन्नलाई आयको बारेमा चिन्तन नगर्ने त्यस्ता टोल सुधार समिति र सोसाइटी किन चाहियो ?

मुलुकभर अन्दाजी १० हजारभन्दा बढी टोल सुधार समाज छन् । ती समाज संगठित एक लाखभन्दा सदस्यहरू छन् । हरेक टोल सुधार समितिमा कम्तिमा एक सय घरधुरी हुन्छन् । त्यस्ता एक सय घरले समस्यामा रहेका ३० मजदुरलाई ३० दिन व्यवस्थापन गर्न नसक्ने कुरै आउँदैन । तर, दृष्य के देखियो भने हामी त्यस्ता मजदुरलाई हजारौं माइलको बाटो खाली खुट्टा, रित्तो खल्ती भोकभोकै घर फर्किन बाध्य बनाइरहेका छौं । मान्छेलाई मान्छेको व्यवहार गर्न नसक्ने त्यस्ता समाजको किन चाहियो ?

salt training

कमेन्ट गर्नुहोस्