कोभिड–१९ महाव्याधि पहिलोपटक देखिएको चीनको वुहान शहरका अस्पतालमा कोरोनाका एउटा पनि केस बाँकी नरहेको चीनले आइतवार घोषणा गरेको छ ।
कोरोनाभाइरस वुहानको मासुबजारबाट उत्पत्ति भएर चीन तथा संसारभरि फैलिएको मानिन्छ ।
कोभिड–१९ का शुरूआती केसहरू वुहानवासीहरूमा डिसेम्बर महिनामा देखिएको थियो ।
‘अप्रिल २६ सम्ममा वुहानमा कोरोनाभाइरसका नयाँ रोगीहरूको संख्या शून्य पुगेको छ । वुहान र देशका स्वास्थ्यकर्मीहरूको संयुक्त प्रयासले यो सम्भव भएको हो,’ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले आइतवार बेइजिङमा आयोजित प्रेस ब्रीफिङमा बताए ।
वुहानमा गम्भीर स्वास्थ्य अवस्थामा रहेका अन्तिम रोगी शुक्रवार ठीक भएपछि अब रोगीको संख्या शून्य बनेको मीले बताए ।
तर वुहानमा शुक्रवार भाइरसका २० जना मौन वाहक रहेको अनि ५३५ जना संक्रमणको आशंका व्यक्त गरिएका मानिसलाई स्वास्थ्य निगरानीमा राखिएको छ ।
अहिले चीनको ध्यान विदेशबाट आएका संक्रमितमा केन्द्रित छ ।