२५ असार २०८३, बिहीबार

नयाँ बजेटको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार, बजेट खर्चमा भारी गिरावट

बैशाख १४, २०७७
नयाँ बजेटको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार, बजेट खर्चमा भारी गिरावट

सुदूरपश्चिम प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बजेट निर्माणको तयारीमा जुटेको छ ।

बैशाख तेस्रो साताभित्र बजेटको सिलि· ल्याउने गरी नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले नयाँ बजेट निर्माणको गृहकार्यमा जुटेको जानकारी दिए ।

मन्त्रालयको स्रोत तथा मापदण्ड समितिले बैठक बसेर आन्तरिक स्रोतहरुको प्रतिवेदन पनि बनाइसकेको छ । विषयगत मन्त्रालयहरुलाई बजेटको सिलि∙ पठाउनका लागि गृहकार्य गरिरहेको मन्त्री बोहराले बताए ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानिकरण र राजश्व बाँडफाँडको बजेट सिलि∙ समेत पठाइसकको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा प्रदेश सरकारले ८ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानिकरण र ७ अर्ब ८७ करोड ३६ लाखको राजश्व बाँडफाँडको बजेट पाउने भएको छ ।

मन्त्री बोहराले बजेटको मापदण्ड जारी गर्ने तयारीमा रहेको बताउँदै चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ्ने जानकारी दिए । तर सरकारबाट थप्ने लकडाउनले पनि बजेटको आकारमा प्रभाव पार्ने मन्त्री बोहराको भनाइ थियो ।

मन्त्रालयले अहिले बजेट स्रोतहरुको हिसाव गरिरहेको र केही दिनमै बजेटको अनुमानित आकार निर्धारण हुने बताइएको छ ।

यसैबीच आउँदो बजेट कोरोना भाइरस विरुद्ध केन्द्रीत हुने जनाइएको छ । मन्त्री बोहराले प्रदेशमा कोरोनाले पारेको असरलाई रिकभर गर्ने गरी बजेटको प्राथमिकता निर्धारण गरिने बताए । उनका अनुसार स्वास्थ्य, कृषि, रोजगार, साना तथा लघु उद्यम र विकास निर्माणलाई प्राथमिकतामा पारिने भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको बजेट खर्चमा भने भारी गिरावट आएको छ । चैत मसान्तसम्ममा चालू आर्थिक वर्षको कुल विनियोजित बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँ मध्ये जम्मा २१ प्रतिशत मात्रै बजेट खर्च भएको छ । तथ्यांकअनुसार प्रदेश सरकरले चालु र पुँजिगत बजेट गरी चैत मसान्तसम्म ५ करोड ८४ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।

गत आर्थिक वर्षमा २५ अर्व रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले ६० प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको थियो । चालु आब २०७६/७७ को बजेट पास गर्दा प्रदेश सभामै ९० प्रतिशत भन्दा बढी खर्च गर्ने दावी गरेको थियो । तर कोराना कहरकैबीच जारी लकडाउनले विकास निर्माण ठप्प भएपछि बजेट खर्चमा विगतको भन्दा झनै खस्किने अनुमान गरिएको हो ।

मन्त्री बोहराले नोवेल कोरोना भाइरस कारण देशैभर लकडाउन भएपछि प्रदेश सरकारको सम्पूर्ण विकास निर्माण तथा गतिविधिहरु ठप्प हुँदा बजेट खर्च ठप्प भएको बताए । उनले बढीमा ५० प्रतिशत बजेट मात्रै खर्च हुन सक्ने उल्लेख गरे ।

तर चालु आबमा खर्च हुन नसक्ने बजेटको बाँकी अंश आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरी बजेटको आधार बढाउने तयारीमा मन्त्रालयले जुटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्