
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजान सरकारसँग माग गरेको छ।
राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आइतबार बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पु¥याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण व्यवस्थित र पारदर्शी गर्न, उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यावसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न तथा विदेशमा रहेका नेपालीको स्वास्थ र रोजगारी सुरक्षाका निमित्त उपयुक्त व्यवस्था गरी आवश्यक भए देश फर्काउने काम गर्न आग्रह गरेको हो।
पार्टीले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीका निमित्त बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
अध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापासम्मिलित बैठकले संकटको अवस्थामा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने कुनै कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसंँग अपिल गरेको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए।