
संसारको दोस्रो सबभन्दा ठूलो आइसबर्ग अर्थात् हिमपहाड फुटेर समुद्रमा तैरिन थालेको छ ।
त्यसमा चिरा परेर बग्न थालेपछि समुद्रमा तैरिरहने जहाजहरूका लागि खतरा उत्पन्न भएको छ ।
अनि यसले समुद्रको जलस्तर बढाउने सम्भावना पनि छ । त्यसले गर्दा समुद्री तटमा रहेका शहरहरूमा सुनामी आउने खतरा बढेको छ ।
अप्रिल २३ मा युरोपेली अन्तरिक्ष नियोगको भूउपग्रह सेन्टिनेल–१ ले आइसबर्गको नयाँ तस्वीर खिचेको हो । ए–६८ए भनिने यो आइसबर्ग तीव्र गतिमा खुला समुद्रमा घुमिरहेको छ र तातो पानी भएको समुद्रतिर गइरहेको छ ।
यसअघि ए–६८ आइसबर्ग अन्टार्कटिकाबाट छुट्टिँदा त्यसको ६ हजार वर्ग किलोमिटर क्षेत्रफल थियो । बिस्तारै घटेर त्यो ५१ सय वर्गकिलोमिटरमा सीमित भएको छ ।
विगत तीन वर्षयता यो वेड्डेल समुद्रमा घुमिरहेको छ । यसैबाट अहिले ठूलो टुक्रा चोइटिएको हो ।
ए–६८ए आइसबर्गको कुल क्षेत्रफल १७५ वर्ग किलोमिटर छ । ए–६८ आइसबर्ग सन् २०१७ को जुलाई महिनामा अन्टार्कटिकाको लार्सेन सीबाट टुक्रिएको थियो ।
यो दक्षिण अमेरिकाको तलपट्टि रहेको दक्षिणी जर्जिया र दक्षिणी स्यान्डविच आइल्यान्डतर्फ गइरहेको देखिन्छ ।
संसारको सबभन्दा ठूलो आइसबर्ग बी–१५ हो । त्यो सन् २००० मा अन्टार्कटिकाबाट टुक्रिएको थियो । त्यसको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ ।
साइन्स अलर्टबाट