इक्वेडरको ग्वायाक्विलमा कोभिड–१९ का कारण मृत घोषणा गरिएकी महिला अचानक अस्पतालमा उठेपछि उनका आफन्तहरू खुशी भएका छन् ।
ती महिलाका आफन्तले अर्कै महिलाको शरीर उनको हो भन्ठानेर अन्त्येष्टि समेत गरिसकेका रहेछन् ।
आल्बा मरुरी नामक ७४ वर्षीया महिलालाई मार्च महिनामा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आएको थियो र सास फेर्न गाह्रो परेको थियो ।
उनले तीन हप्तासम्म होश गुमाइन् र उनलाई मार्च २७ मा मृत घोषणा गरिएको आफन्तहरूले बताए ।
त्यसको एक हप्तापछि परिवारलाई मूर्दाघरमा एउटा लाश देखाइयो तर कोरोना संक्रमणको डरले कोही पनि नजिक जान मानेन । शरीर कोल्टे पारेर राखिएको थियो अनि ढाड मात्र देखिन्थ्यो ।
मरुरीका भान्जा हाइम मोर्लाले माइजूकै लाश होला भन्ठानेर अस्पतालका अधिकारीलाई त्यही हो भने ।
‘मलाई उनको अनुहार हेर्न डर लागेको थियो,’ उनले भने ।
‘म डेढ मिटर जति थिएँ । कपाल र छालाको रंग उस्तै थियो । अनि लाशमा माइजूको जस्तै घाउ देखिन्थ्यो,’ मोर्लाले भने ।
त्यसपछि छोपिएको अवस्थामै लाशलाई जलाइयो ।
मरुरी बिहीवार होशमा आइन् र चिकित्सकहरूलाई आफू को हो बताइन् अनि बहिनी औरालाई बोलाउन लगाइन् ।
‘चिकित्कहरू मेरी माइजूको घर गए अनि गल्ती भएछ भने,’ अर्का भान्जा हुआँ कार्लोस रामिरेजले बताए ।
‘कस्तो अस्तु आफ्नो घरमा छ भन्ने उनीहरूले अहिलेसम्म थाहा पाएका छैनन्,’ उनले थपे ।
परिवारले दाहसंस्कार गर्दा लागेको पैसा अनि गडबडीका कारण भएको तनावको भरपाइका अस्पतालविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।
बहिनी औराले इक्वेडरका पत्रिकाहरूलाई बताएअनुसार, अस्पतालका अधिकारीहरू शुक्रवार उनीकहाँ आए अनि दिदी ठीक भएको र अस्पतालबाट छुट्टी लिन लागेको बताए ।
‘यो त चमत्कारै भयो । एक महिनासम्म त हामीले दिदी मरेको भन्ठान्यौं । अनि मेरो घरमा अरू कसैको अस्तु छ,’ औराले भनिन् ।