०२ असार २०८३, मंगलबार

कोलकातामा जहाजभित्रै १० घण्टा...

बैशाख १६, २०७७
कोलकातामा जहाजभित्रै १० घण्टा...
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

गत बिहीबार दिउँसो नेपाली झन्डा भएको जहाज सिंगापुरबाट जब उड्यो, चालक दलले सात देशका आकाश छिचोल्दै बेलुकीसम्म काठमाडौं अवतरण गर्ने योजना बनाएका थिए । तर, पाइलटहरूको त्यो मिसनमा तगारो भइदियो छिनछिनमा बदलिरहेको हवाई रुटको मौसम । अर्थात् हिन्द महासागरको उत्तरपूर्वी भागमा पर्ने बंगालको खाडीसँग जोडिएका म्यानमार लगायतका पूर्वी मुलुकमाथिको हवाई मार्गमा बाक्लै कालो बादलसँग जहाजले सामना गरिरहनु पर्‍यो ।

३६ हजार फिट उचाइमा उडिरहेको मझौला आकारको जहाज त्यो साँझ नेपाली एयर रुटको सीमा नपुग्दै बीचबाटै भारततर्फ मोडियो । कोभिड–१९ को उपचारमा मानवीय सहायताका सामग्री लिन काठमाडौंबाट उडेको त्यो चार्टर विमान २४ घण्टापछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यो ।

श्री एयरको उक्त विमानमा थिए चार जना पाइलट । क्याप्टेनहरू प्रफल्ल वैद्य, प्रज्वल अधिकारी, सौरभ सिन्हा र को–पाइलट सुद्धत लामा । भैपरी आउन सक्ने प्राविधिक कठिनाइका लागि जगेडा स्पेयर पार्ट्ससहित इन्जियर मोहताज अन्सारी र श्याम कुसुहा पनि त्यसै उडानमा गएका थिए ।

११ वैशाख बिहीबार बेलुकी सोझै नेपाल आउन नसकेपछि जहाज भारतको कोलकातास्थित नेताजी सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । जहाजबाट कोही रनवेमा उत्रिएन । चालक दलले जहाजभित्रै रातको १० घण्टा रात बितायो ।

चैत २४ मा सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाल सरकारलाई ३३ किलोग्राम कोरोना भाइरस जाँच्ने पीसीआर किट अनुदानमा दिएको थियो । यसबाहेक पछि थपिएको स्वास्थ्य विभागको अर्को १ सय १९ केजीको मेडिकल सामग्री ल्याउन वैशाख ११ को मितिमा टुंगो भएको थियो । श्री एयरले आफूसँग भएका चारमध्ये सबैभन्दा ठूलो सीआरजे अल्फा माइक ब्राभो बम्बार्डियर जहाजलाई त्यस दिन बिहीबार बिहान ७ः५० बजे नै सिंगापुरका लागि काठमाडौंबाट उडाएको थियो ।

उक्त उडानका कमान्डर थिए, क्याप्टेन प्रफल्ल वैद्य । पाइलटको दुई सेट थियो । किन थियो भने, यो उडानको समय १० घण्टाभन्दा बढीको थियो । नियमले एक सेटले १० घण्टाभन्दा बढी उडाउन नमिल्ने भएकाले दुई सेट पाइलट राखेर उडाइएको थियो । खासमा मानवीय सहायतासँग जोडिएका यी मेडिकल सामग्री १५ दिनअघि नै आउनुपर्ने थियो । तर, लकडाउनका कारण व्यावसायिक उडान रोकिएपछि सिंगापुरबाट हवाई चार्टर उडान गर्नुबाहेक नेपालसँग विकल्प नै भएन ।

यो मिसनको संयोजनकारी भूमिकामा रहेका व्यवसायी रञ्जित आचार्यका अनुसार चार्टर उडान अनुमति लिन नेपालमै समय घर्किंदा नेपालबाहेक भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया र सिंगापुर गरी सातवटा मुलुकमाथि उड्नुपर्ने अनुमति दुईपटक लिनुपर्‍यो ।

उनले भने ‘रुट अनुमति लिँदा एकपटकमा २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्यो ।’ नेपाली सरकारी निकायबीच संयोजन नभएकै कारण उक्त रकम खेर गएको उनी बताउँछन् । त्यसैले श्रीले ती मुलुकमाथि उड्ने अनुमति पुनः लिनुपरेको थियो । यता नेपालमा आन्तरिक उडानको मात्रै अनुमति भएको श्रीले अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति पाउने प्रक्रिया टुंगिसकेको थिएन ।

०७५ माघमै सुरु भएको अन्तर्राष्ट्रिय कार्गो उडानको अनुमति लिने लामो प्रक्रिया लकडाउनकै बेला श्रीले यसपाली पुनः थालेर टुंग्यायो । त्यसैले यताको अनुमति नपाउँदै उसलाई ७ वटा मुलुकले दिएको आफ्नो आकासमाथि उड्ने अनुमति ७२ घण्टामै पहिलोपटक खेर गएको थियो । दोस्रोपटकमा नागरिक उड्डयन प्राधिकरणले यसका चारवटा बम्बार्डियर सीआरजे विमानलाई मात्रै लागू हुने गरी एसियाका केही क्षेत्रमा कार्गो उडान (यात्रु बोक्ने होइन) अनुमति फास्ट ट्र्याक विधि अपनाएर दियो ।

अहिलेको अवस्थामा नेपालबाट नजिकैका क्षेत्रीय सहरमा १० टनभन्दा कम सामान लिन नेपालमा भएका विमानमध्ये क्यानेडियन सीआरजे नै उपयुक्त देखियो । कारण यो विमानमा जेट इन्जिन भएको तथा युरोपियन एटीआर विमानको दाँजोमा यसको गति बढी भएकाले । जब यसले नेपालले पूर्वी, मध्य र पश्चिम एसियासम्मको कार्गो उडानको अनुमति पायो, त्यतिबेला फेरि सिंगापुर जाने बाटोमा पर्ने मुलुकहरूको अनुमति भइदिएन ।

यसरी करिब ५ दिन अनुमति प्रक्रियामै यो उडान अन्योलमा पर्‍यो । सोमबार उड्ने तय भएको सीआरजे बिहीबार बिहानमात्रै काठमाडौंबाट उडेको थियो । त्यसो त कम्पनीले एक सातादेखि चालकदललाई ‘रेडी’ पोजिसनमा राखिसकेको थियो । काठमाडौंबाट उडेको करिब पौने ५ घण्टा हाराहारीमा जहाज त्यस दिनको बिहान सिंगापुरस्थित चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

सिंगापुरमा नेपाली पाइलटसहित ६ जना चालक दललाई त्यहाको विमानस्थलभित्र पस्ने अनुमति भने थिएन । कारण कोरोना भाइरसको महामारी र लकडाउन । चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल सामान आइनपुगेकाले फेरि ४ घण्टा त्यही ढिलो भइदियो । चालकदलका ६ जनाले ४ घण्टा जहाज रुँघेरै समय कटाउनुपर्‍यो । नेपाली समयअनुसार, दिउँसोको ४ सिंगापुरमै बजिसकेको थियो । ४ घण्टाको प्रतीक्षापछि मेडिकल सामान लोड गरेर काठमाडौंका लागि उडान भयो ।

सिंगापुरबाट उडेपछि मलेसिया, थाइल्यान्डसम्मको रुटको मौसम त ठिकै थियो । तर म्यान्मार यता भने जहाजले बाक्लो कालो बादल र तीव्र गतिको हावाको सामना गर्नुपर्‍यो । बंगलादेश आइपुग्दा मौसम र हावाको गति उडान अनुकूल नदेखिएपछि ३६ हजार फिटमाथि उडिरहेको जहाजलाई पाइलटहरू प्रज्वल अधिकारी र सौरभ सिन्हाले भारतको कोलकाता डाइभर्ट गर्ने निर्णय लिए । उनीहरूले काठमाडौंबाट नउड्दै कोलकातालाई फलाइट प्लानमा वैकल्पिक विमानस्थलको सूचीमा राखेकै थिए ।

सिंगापुरदेखि उडेको ४ घण्टा १० मिनेटको यात्रा नेपाली समयअनुसार बेलुकी ९ बजेतिर कोलकत्तामा विश्राम लिन पुग्यो । भारतमा पनि लकडाउन जारी थियो । जहाजबाट पाइलटलाई निस्कने अनुमति त्यहाँ पनि छैन । यो चार्टर उडानका लागि श्रीले कोलकातामा भद्र इन्डिया नामको ग्राउन्ड ह्यान्डिलिङ एजेन्सीले मद्दत लियो । लकडाउनका कारण त्यहाँ पनि कर्मचारी नहुँदा भन्सार चेकजाँच, ५ हजार किलोग्राम इन्धन थप्दा, हवाई रुट स्वीकृत गराउने लगायतका उड्डन सम्बन्धित प्रक्रिया सक्नै ढिलाइ भइदियो । लकडाउनका कारण सिर्जित यी उल्झनले काठमाडौं छिटै फर्कने सम्भावना क्षीण हुँदै गइरहेको थियो । हुन त सीआरजेका लागि कोलकातादेखि काठमाडौं करिब ५० मिनेटको हवाई दूरी थियो । काठमाडौं उडानका लागि मौसम पनि अनुकूल नभएको चालकदलले रिपोर्ट पाए । तर, पाइलटले जोखिम उठाउन चाहेनन् ।

‘अब के गर्ने ?’ उनीहरूले बिहीबारको रात कोलकाता विमानस्थलमा त्यो पनि जहाजमै बिताउनुपर्ने भयो । अरू कमर्सियल उडानमा जस्तो होटलको बास नहुने भयो । काठमाडौंबाटै लगिएको रोमिङ कल सुविधा भएका मोबाइल फोन र सेटलाइट फोनमार्फत उनीहरू कम्पनीसँग सम्पर्कमा थिए । सबै अवस्था काठमाडौंमा जानकारी गराउँदै उनीहरूले रात त्यतै कटाउने निधो गरे ।

लकडाउनका कारण कोलकातामा पनि विदेशी नागरिकलाई विमानस्थल बाहिर निस्कन निषेध थियो । एयरपोर्टभित्रै वा नजिकै भएका होटलमा जाने खाना खाने, बास बस्ने सोच बनाउनै पनि भएन । काठमाडौंबाटै बिहान जहाजमा राखिएका जुस, स्यान्डबिच, पराठा र पानी थिए । केही पाइलटले घरबाटै खाना बनाएर बोकेका थिए । फेर्ने कपडासहितको ब्याग सबैको साथै थियो ।

७० सिट क्षमताको उक्त सीआरजे विमानका सिट काठमाडौंमै केही निकालिएका थिए । जहाजमा भएको विद्युतीय सहायक पावर प्रणाली (एपीयू) को मद्दतले जहाजमा एसी चलाएर चिसो बनाइयो । धन्न जहाजमा म्याट पनि राखिएकाले ६ जनाले विमानभित्रै भुइँमा सुतेर रात कटाए । राति धेरै बेर ढोका खुल्लै राखेका कारण कोलकाताको गर्मी र लामखुट्टेको टोकाइको अनुभव ६ जनाले लिनुपर्‍यो ।

जहाजभित्रै शौचालय भएकाले उनीहरूलाई नेताजी सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलको भुइँमा उत्रन बल गर्नु परेन । शुक्रबार बिहान जहाजभित्रकै रेस्ट रुमको पानीले फ्रेस भएपछि ७ बजे उनीहरू काठमाडौं फर्किए । कोलकाताबाट फर्किंदा कमान्डर प्रफल्ल वैद्य र क्याप्टेन प्रज्वल अधिकारीले उडाएको जहाज ८ बजेतिर काठमाडौं अवतरण भयो । कान्तिपुर दैनिकमा खबर छ ।

 

salt training

कमेन्ट गर्नुहोस्