
पार्टीभित्र देखिएको विवाद समाधान र निकास खोज्नका लागि मंगलवार बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित भएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच सोमवार भएको अनौपचारिक छलफलमा मंगलवार सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
नेकपा वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकको टुंगो लागि नसकेको लोकान्तरलाई जानकारी दिए । ‘हामीले निरन्तर बैठक बोलाउन माग गरिरहेका छौं, अस्तिदेखि नै बैठक बोलाउने कुरा थियो, अहिलेसम्म खबर आएको छैन,’ खनालले मंगलवार लोकान्तरसँग भने ।
२० जना स्थायी कमिटी सदस्यहरूले तत्काल बैठक बोलाउन हस्ताक्षरसहित माग गरेका थिए । ओली पक्षले मन्त्रिमण्डल हेरफेर, मुख्यमन्त्रीको हेरफेर र प्रधानमन्त्रीको सचिवालय हेरफेरको प्रस्ताव राखेपनि नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएर निकास खोज्नुपर्ने अडान राख्दै आएको थियो ।
सरकारले विवादास्पद अध्यादेश ल्याएपछि आक्रोशित बनेका प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुवै पद त्याग्नुपर्ने अडान राख्दै आएको छ ।