
चीनमा एक बफादार कुकुरले आफ्नो मालिक घर फर्किएलान् भनी तीन वर्षदेखि कुरिरहेको पाइएको छ । तर मालिकले उसलाई तीन वर्षअघि त्यागेको थाहा भएको छ ।
हेइ जी नामक राखिएको कुकुर सियान शहरस्थित एउटा आवासीय भवन बाहिर दिनरात कुरिरहेको देखिन्थ्यो ।
उक्त कुकुर एउटा कोरियाली मूलको मानिसले पालेको अनि सन् २०१७ मा त्यसलाई छोडेर कोरिया गएको एक छिमेकीले पत्रकारहरूलाई बताए ।
सामुदायिक अधिकारीहरूले त्यसलाई भुस्याहा कुकुर भन्ठानेर समात्ने धम्की दिन थालेपछि छिमेकी वाङ हुइलीले मानिसहरूलाई हेइ जी कुकुरको सहायता गर्न अपील गरे ।
अनि कुकुरसँग डराउने केही स्थानीयहरूले पनि हेइ जीलाई टोलबाट हटाउन अधिकारीहरूलाई आग्रह गरेका थिए ।
तर धेरै मानिसले हेइ जीप्रति सहानुभूति देखाएर आफ्नै घरपालुवा पशु जस्तो व्यवहार गरेको पनि वाङले जोड दिइन् ।
स्थानीय बासिन्दाहरूले हेइ जीलाई आराम गर्नका लागि बाँसको सानो कटेरो बनाएका छन् । कटेरोभित्र उनीहरूले खानेकुरा पनि राख्ने गरेका छन् ।
हेइ जी टोलको मध्यमा रहेको एउटा मूर्तिअगाडि मालिक आउने प्रतीक्षामा जहिले पनि बिहान १० र अपराह्न ४ बजे बसिरहने गरेको स्थानीयहरूले बताए ।
उनीहरूले उक्त कुकुर बाठो, संवेदनशील र भद्र भएको बताए ।