११ साउन २०८३, सोमबार

रायमाझी भन्छन् - मेरो क्याम्प नै छैन, कता चेन्ज गर्नु ?

बैशाख १६, २०७७
रायमाझी भन्छन् - मेरो क्याम्प नै छैन, कता चेन्ज गर्नु ?
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीभित्र छलफल नै नगरी प्रधानमन्त्री ओली एकलौटी ढंगबाट अघि बढ्न खोजेपछि ओली र ओलीइतर समूहको विवाद अहिले उत्कर्षमा छ ।

प्रधानमन्त्री ओली अझै पनि छलफलको माध्यमबाट विवाद समाधान गर्न तयार देखिएका छैनन् । बरू उनी खुलेरै शक्तिप्रदर्शनमा उत्रिएका देखिन्छन् । ‘तपाईहरूले सकेको तपाईंहरू गर्नुस्, मैले सकेको मैले गर्छु’ भनेर ओलीले नेकपाका शीर्ष नेताहरूलाई भन्ने गरेका छन् ।

संसदीय दलमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई अझै पनि करीब एक दर्जन सांसदको आवश्यकता देखिन्छ । यही बीच कतिपय नेताहरूले ‘क्याम्प चेन्ज’ गरेका समाचारहरू पनि आइरहेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतका पूर्वमाओवादी पक्षका नेताहरू ‘क्याम्प चेन्ज’ गरेका त होइनन् भन्ने प्रश्न उठेको छ ।

तर रायमाझी भने आफूले क्याम्प परिवर्तन गरेको हल्ला सही नभएको दाबी गर्छन् । लोकान्तरसँग कुरा गर्दै रायमाझीले भने, ‘म नेकपाको सिपाही हो । कुनै क्याम्प परिवर्तन गरेको छैन । खासमा मेरो क्याम्प नै छैन भने के परिवर्तन गर्नु ?’

उनले आफू गुटगत भेलामा हिंड्ने खाले मान्छे नभएको प्रष्ट पारे । ‘अहिलेका पार्टीका सरकारका जे जति समस्या छन्, त्यसलाई हल गर्ने भनेर हामीले स्थायी कमिटीको बैठक बोलाउ भनेर हस्ताक्षर गरियो । त्यहीं छलफल गर्ने, बहस गर्ने भनेर भनेका हौँ । सरकारका पार्टीका समस्याहरू बैठकमै छलफल गर्नु विधिसम्मत प्रक्रिया हो ।’

अहिलेको समाधान नै स्थायी कमिटी बैठक रहेको रायमाझीले बताए । रायमाझी लगायत २० जना स्थायी कमिटी सदस्यले केही दिनअघि स्थायी कमिटी बैठक बोलाउन दबाब दिँदै अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए ।

‘पार्टी एकताका कामहरू अझै पूर्ण भइसकेका छैनन् । क्याम्प बनाउँदै हिंड्ने, अनि एकले अर्कालाई निषेध गर्दै हिंड्ने र पार्टीलाई विभाजनतिर लैजाने जो समस्या छ, त्यसका बारेमा छलफल गरेर समाधान गर्नु नै उत्तम विकल्प हो,’ रायमाझीले लोकान्तरसँग भने ।

रायमाझीले सरकार र पार्टी संचालनका क्रममा विवाद र समस्या रहेको बताए । ‘यसको समाधान समाधान गर्ने विधि हुन्छ,’ रायमाझीले भने, ‘स्थायी कमिटी बैठक बोलाउन एकमत भएको हो तर गुटगत कामका लागि हस्ताक्षर गर्दै हिंड्नु बुद्धिमानी होइन ।’

salt training

कमेन्ट गर्नुहोस्