
राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड –१९ को महामारी विश्वव्यापि फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ।
यूएनएफपिएद्वारा मंगलबार यहाँ जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै आगामी महिनामा लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ।
कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदन भन्छ ,‘कोभिड –१९ का कारण विश्वव्यापि आपूर्ती व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरु घरमै बस्ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ।'
‘लाखौँ महिला तथा किशोरी आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरिरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्,’ यूएनएफपीएका कार्यकारी निर्देशक डा नातालिया कनेमले भनिन्। महिलाको प्रजनन् स्वास्थ्य सेवा , अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ती वितरणलाई सहज बनाउन र संकटासन्नहरुलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने संभावना औँल्याएको छ। साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैङ्गिक हिंसामा घटना हुने जनाएको छ।