२७ असार २०८३, शनिबार

चीनका विषयमा ट्रम्पको कडा दृष्टिकोण, के हो रणनीति ?

बैशाख २१, २०७७
चीनका विषयमा ट्रम्पको कडा दृष्टिकोण, के हो रणनीति ?

अमेरिका र चीनबीच रहेको पुरानो शत्रुता कोभिड–१९ महाव्याधि र आगामी राष्ट्रपति निर्वाचनका कारण चर्किएको देखिएको छ । 

दुई देशबीचको शाब्दिक लडाइँ चरममा पुगेको छ । चीनप्रति अमेरिकाको यस्तो कटुतामा कुन रणनीति लुकेको छ ? 

राष्ट्रपति पदको दोस्रो कार्यकाल चलाउने अभियानमा डोनल्ड ट्रम्पले अनेकौं बयान दिइरहेका छन् । 

समाचार संस्था रोयटर्ससँग उनले भने, ‘चुनावमा मलाई हराउन चीन जुनसुकै कदम पनि चाल्न सक्छ ।’

चीनविरुद्ध ट्रम्पको आक्रमणसँगै राष्ट्रपति निर्वाचन नयाँ चरणमा प्रवेश गरेको छ । ट्रम्पले कोभिड–१९ महाव्याधि वरिपरि घुमिरहेको निर्वाचन अभियानको एजेन्डालाई बदल्ने कोशिश गरिरहेका छन् । 

संसारका दुई ठूला अर्थतन्त्रबीच उतारचढावपूर्ण सम्बन्ध झनै बिग्रने संकेत यसबाट पाइएको छ । 

ट्रम्पले अमेरिकी अर्थतन्त्र आफ्नो कार्यकालमा चम्किएको भन्दै निर्वाचन अभियानमा जनतालाई सुनाउन खोजेको भए पनि कोरोनाका कारण त्यो धराशायी भयो । 

चुनावी सर्वेक्षणले प्रमुख राज्यमा राष्ट्रपति ट्रम्पप्रतिको समर्थन घटेको देखाएका छन् । कोरोना संकट व्यवस्थापनमा उनले गरेको प्रदर्शनको आलोचना भइरहेको छ । 

उता महाव्याधिको आरम्भ भएको स्थान चीनमा यसलाई रोक्न एकदमै सुस्त कदम चालिएको आरोप छ । 

ट्रम्पको रिपब्लिकन पार्टीले सम्भावित प्रतिद्वन्द्वी जो बाइडनलाई निशाना बनाउन थालेको छ । 

ट्रम्पको सहयोगी संस्था अमेरिका फर्स्ट याक्सनले बेइजिङ बाइडन शीर्षकमा विज्ञापन निकालेर बाइडन चीनप्रति नरम रहेको आरोप लगाएको छ । 

बाइडनले चाहिँ ट्रम्प महाव्याधि रोक्न सुस्त रहेको अनि विफल भएपछि अर्कामाथि त्यसको दोष थोपर्न उद्यत रहेको आरोप लगाएका छन् । 

ट्रम्प प्रशासनले कोरोनाभाइरसका बारेमा चीनबाट शुरूमा पाएको सबै जानकारीमा आवश्यकताभन्दा बढी विश्वास गरेको आरोप बाइडन टीमले लगाएको छ । 

डेमोक्रेट र रिपब्लिकन दुवै पार्टी चीनप्रति कडा दृष्टिकोण अपनाइरहेका छन् । 

दुवै पक्षले आफू चीनविरुद्ध कडा कदम चाल्न सक्ने बलियो नेता भएको भनी दुनियाँलाई देखाउन चाहेका छन् । 

सत्तामा आउनेबित्तिकै ट्रम्पले बेइजिङसँग व्यापारयुद्ध गरेका थिए । त्यतिखेरदेखि नै अमेरिकामा चीनविरुद्धको नकारात्मक धारणा नाटकीय रूपमा बढेको छ । 

तर कोरोना संकटका लागि चीनलाई कसूरदार ठहर्‍याउने कुरा गर्दा राष्ट्रपति ट्रम्प दोधारमा परेका देखिन्छन् । 

उनी कहिलेकाहीँ चीनका राष्ट्रपति सी चिनफिङको प्रशंसा गरिरहेका देखिन्छन् भने कहिलेकाहीँ चिनियाँ भाइरस भनी गिल्ला गरिरहेका पनि भेटिन्छन् । 

तर अहिले चाहिँ ट्रम्पको चुनावी अभियानले चीनप्रति कडा दृष्टिकोण अपनाएको देखिन्छ । चीनले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिलाउने कसम खाइन थालेको छ । 

चीनविरुद्धको आक्रामक बयान दिन ट्रम्प प्रशासनका मानिसका साथै कांग्रेसका सांसद पनि लागिपर्न थालेका छन् । 

अमेरिकी चुनावको प्रमुख एजेन्डा नै चीनविरोध बनेको छ । 

मतदाताहरू रिसाइरहेका अनि रोजीरोटी नै गुमाउने डर पालिरहेको बेलामा चुनाव हुने महिना नोभेम्बरसम्म उनीहरूको आक्रोश र गरीबी दुवै बढ्नेछ । यसका लागि कसलाई जनताले दोषी ठहर गर्छन् भन्ने कुरा निर्वाचन परिणामले देखाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्