
मदिरा उत्पादकहरूको संस्था नेपाल पेय पदार्थ संघले लकडाउनको समयमा निश्चित शर्त तय गरेर मदिरा पसल खोल्न दिन माग गरेको छ।
‘अर्थतन्त्रमा परिरहेको प्रभावलाई समेत मध्यनजर गरी तोकिएको सुरक्षाको मापदण्ड अनसार भौतिक दूरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका यथेष्ठ उपाय अबलम्बन गरेर निश्चित समय तोकी मदिराका बिक्री कक्ष खोल्न दिनका लागि नेपाल सरकारस“ग अनुरोध गरेको छ,’ संघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
लकडाउनका कारण खुद्रा पसल सञ्चालन गरी जिविकोपार्जन गर्नुपर्नें व्यवसायीको जीवनयापन कष्टकर बनेको भन्दै संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत पत्र लेखेको छ।
‘देशको कुल राजश्वमा करिब १७ प्रतिशत अर्थात एक खर्ब जतिको योगदान गर्ने तथा करिब दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी तथा अप्रत्यक्ष समेत गरी लगभग आठ लाख जतिलाई प्रदान गरिरहेको यो क्षेत्र बन्द भइरहदा यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ,’ पत्रमा भनिएको छ।
मदिरा विक्रीमा रोक लगाइदा वियर, वाईन जस्ता मदिराजन्य पदार्थको निश्चित उपभोग मिति नाघ्ने जोखिम बढेको उसले जनाएको छ।