
कोरोना कहरसँगै लकडाउनले सर्वसाधारणलाई अप्ठ्यारोमा पारेका बेला केही सहयोगी मनहरू पनि सक्रिय भएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी जनता समाजवादी पार्टी (जसपा) की नेत्री चन्दा चौधरी पनि कोरोना विरुद्धको लडाइँमा सक्दो योगदान गरेकी छन् ।
कोरोना विरुद्धको लडाइँमा अग्रमोर्चामा रहेका सिपाही स्वास्थ्यकर्मी हुन् र ती सिपाहीलाई लडाइँ लड्नका लागि चाहिने सुरक्षा कवचदेखि स्वास्थ्य सामग्री मुख्य हतियार हुन् । चन्दा चौधरीले २ नम्बर प्रदेशमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।
सांसद चौधरीले प्रदेश सरकारदेखि विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् । चैत्र ३० गते चौधरीले मुख्यमन्त्री लालबाबु राउतलाई १५० थान पीपीई, ४ हजार २५० जोडा ग्लोभ्स, ५०० एमएलको ८४ बोतल स्यानिटाइजर, १० थान स्प्रे ट्यांक र २ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेकी थिइन् । ‘धेरैजसो संघसंस्थाले दिएका पीपीई पुनः प्रयोग गर्ने खालको थिएन,’ चौधरीले लोकान्तरसँग भनिन्, ‘पुनः प्रयोगमा आउने खालको गुणस्तरीय पीपीई मैले वितरण गरेकी छु ।’ पीपीईको अभाव हुन नदिन पुनः प्रयोग गर्न मिल्ने पिपीई दिएको उनले बताइन् ।
सर्लाही, रौतहट र महोत्तरीका जिल्ला अस्पतालमा समेत आफैं पुगेर उनले थप स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरेकी थिइन् । नेपाल–भारत महिला मैत्री समाज संस्थाको तर्फबाट उनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिइन् । उनी संस्थाकी अध्यक्ष हुन् ।
प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो, आगलागी, शीतलहर लगायतका घटनामा राहत वितरण गर्दै आएको उनी बताउँछिन् । ‘देशमा कुनै पनि आपतविपत पर्दा संस्थामार्फत मल्हम लगाउन हामी अगाडि आउने गरेका छौं,’ उनले भनिन्, ‘हाम्रो संस्थाले गर्ने गरेका सबै कामको बजेट व्यवस्थापन नेपाल र भारत दुवै देशका सरकारको सहयोगमा हुने गरेको छ ।’
सन् २०१३ मार्च महिनामा नेपाल–भारत महिला मैत्री समाज नेपालमा दर्ता गरेर सञ्चालन गर्दै आएकी चौधरीले संस्थामार्फत विभिन्न काम गर्दै आएकी छन् । नेपाल–भारत दुवै देशबीच मित्रता झन् बलियो तथा सुमधुर बनाउन संस्थाले दुवै देशमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएकी छन् ।
‘राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका विभिन्न विषयवस्तुमाथि दुवै देशका सम्बन्धित विषयका विज्ञहरू राखेर छलफल, अन्तर्क्रिया, गोष्ठी सञ्चालन गर्दै आएका छौं,’ उनले भनिन्, ‘पछिल्ला ५ वर्षमा ६९ वटा त्यस्तो कार्यक्रम दुवै देशमा गरिसकेका छौं ।’
नेपालमा महिला सशक्तिकरणका लागि समेत विभिन्न जिल्लामा काम गर्दै आएको उनी बताउँछिन् । धनुषा, महोत्तरी, सर्लाही, भक्तपुर लगायत जिल्लामा हालसम्म ९५० महिलालाई सीपमूलक तालिम दिलाएको उनले बताइन् ।
‘सिलाइकटाई, ब्यूटीसियनसहित विभिन्न सीपमूलक तालिम दिएका छौं,’ चौधरीले भनिन्, ‘तालिम प्राप्त गरिसक्नुभएका महिलाहरूलाई रोजगारी दिलाउनका लागि पूँजी समेत दिलाएर आफ्नो रोजगार आफैं सञ्चालन गर्दै लघु उद्यमी बनाउनेतर्फ काम अगाडि बढाएका छौं ।’ महिलालाई आत्मनिर्भर बनाउन तथा नेतृत्व क्षमताको विकास गराउनेतर्फ संस्था बढी केन्द्रित हुने गरेको उनी बताउँछिन् ।
को हुन् चौधरी ?
महोत्तरीको मटिहानी माइती रहेकी चौधरीको घर सर्लाहीको कोडैनामा पर्छ । मटिहानीबाट प्राथमिक शिक्षा उत्तीर्ण गरेकी उनको प्रवेशिकादेखि प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा भारतको बिहारबाट भएको थियो । उनका पति गौरीशंकर चौधरी काठमाडौंमा व्यापार व्यवसाय गर्छन् ।
उनका २ छोराहरू छन् । जेठो छोरा रविरञ्जन चौधरीले भारतको अलाहावादस्थित एमएनआईटी कलेजबाट इलेक्ट्रिक इन्जिनीयरिङमा बीटेक गरेका छन् । कान्छो छोरा अभिरञ्जन चौधरी अमेरिकाको बोस्टनस्थित कलेजबाट अर्थशास्त्रमा स्नातक गर्दैछन् ।
२०६२/०६३ सालको जनआन्दोलनबाट राजनीतिमा सक्रिय भएको उनी बताउँछिन् । त्यतिबेला सद्भावना पार्टीमा आवद्ध थिइन् उनी । पछि महन्थ ठाकुर नेतृत्वमा गठन भएको तराई–मधेश लोकतान्त्रिक पार्टीमा उनी संस्थापक महिला नेत्रीको रुपमा सहभागी भइन् ।
संस्थापक केन्द्रीय सदस्यसँगै उनी पार्टीको भातृ संगठन तराई–मधेश महिला संघको केन्द्रीय अध्यक्ष समेत बनिन् । हालसम्मका हरेक मधेश आन्दोलनमा आफूले अग्रपंक्तिमा उभिएर संघर्ष गर्दै आएको उनी दाबी गर्छिन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनी चुनाव प्रचारप्रसारमा व्यापक सक्रिय भएर महिला मतदातालाई रिझाउन सफल भएकै कारण पार्टीको तर्फबाट नेता महन्थ ठाकुरले उनलाई माधवकुमार नेपालको सरकारमा सभासद् नहुँदा पनि युवा तथा खेलकुद मन्त्रालयमा सहायक मन्त्री बनाएका थिए । त्यहाँबाट समेत उनको पहिचान राष्ट्रिय राजनीतिमा स्थापित हुन गयो ।
उनी तमलोपामा केन्द्रीय महामन्त्री समेत बनिन् । राजपा गठन हुँदा समेत उनको पहिचान महामन्त्रीकै थियो । पछिल्लो प्रतिनिधि सभामा उनी समानुपातिकबाट सांसद बनेकी छन् । ‘आगामी चुनावमा म जस्तो महिलालाई पार्टीले समानुपातिक होइन कि प्रत्यक्ष चुनाव नै लड्ने अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘महिला सशक्तिकरणको कुरा गर्दै आएका हामीले अब चुनावी मैदानमा समेत प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।’
पछिल्लो समयमा राष्ट्रियसभा सदस्य निर्वाचन हुँदा नेकपा र राजपा नजिकिँदा सांसद चौधरी प्रतिनिधिसभा उपसभामुख हुने चर्चा भएको थियो । महिला नै उपसभामुख हुने भएपछि उनको नाम पनि पार्टीमा चर्चा भएको थियो ।
‘बाहिर मिडियामा त्यो कुराको हल्ला भएपनि पार्टीमा त्यो विषयले औपचारिक रुपमा कहिल्यै प्रवेश नै पाएन,’ चौधरीले भनिन्, ‘उपसभामुखको लागि मात्रै होइन, अवसर आए सभामुख भएर पनि भूमिका निर्वाह गर्न सक्षम छु तर पार्टीले जे भूमिका दिने हो, त्यसैमा आफू सन्तुष्ट छु ।’
भारतीय शीर्ष नेतासँग सम्बन्ध
चौधरी त्यस्तो महिला नेतृ हुन्, जसको सम्बन्ध नेपालका शीर्ष नेतासँगै भारतका शीर्ष नेता, प्रधानमन्त्री तथा राष्ट्रपतिसम्म छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले नेपाल र भारतमा गरेर ५ पटकसम्म औपचारिक रुपमा भेटघाट गरिसकेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण हुँदा समेत प्रतिनिधि मण्डलमा भारत जाँदा उनले भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीसँग समेत भेटघाट गर्ने अवसर पाएकी थिइन् ।
नेपाल–भारत महिला मैत्री समाजको अध्यक्षका नाताले उनी पटक–पटक भारत जाने गरेकी छन् । ‘विभिन्न कार्यक्रम आयोजना गर्नेदेखि त्यहाँ अन्य संस्थाले समेत कार्यकर्महरू आयोजना गर्दा मलाई आमन्त्रण समेत आउने गर्छ,’ उनले भनिन्, ‘त्यसै सिलसिलामा भारतका विभिन्न राजनीतिक दलका नेताहरूसँग समेत भेटघाट हुने, परिचय हुने तथा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल हुने गरेको छ ।’
भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन हुँदा उनको पार्थिव शरीरमा माल्यार्पण गर्न तथा श्रद्धाञ्जलि अर्पण गर्न समेत उनी दिल्ली पुगेकी थिइन् ।
भारतीय रक्षामन्त्री एवं भाजपाका बरिष्ठ नेता राजनाथ सिंह, भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी, नेतृ मीनाक्षी लेखी, गिरिजा ब्यास, उत्तर प्रदेशका मन्त्री आशुतोष टंडन, राज्यपाल भगतसिंह कोशियारी, बीजेपी नेताहरू रामा देवी, सञ्जय जयसवाल, स्मृति ईरानी, सन्तोष गंगवाड लगायतसँग सुमधुर सम्बन्ध रहेको उनले बताइन् ।
भारतीय संस्थाबाट सम्मान
सन् २०१७ मा भारतको उदयपुरस्थित सर्ववर्गीय कलाल संगिनी महिला मण्डलबाट सम्मानित भएकी उनलाई हरियानामा प्रवासी हरियाणा दिवसमा समेत सम्मान गरिएको थियो । भारतको जयपुर, दिल्लीस्थित विभिन्न संस्थाबाट सम्मानित भएकी चौधरीलाई नेपालमा पनि विभिन्न संघसंस्थाले बेलाबेला सम्मान गर्दै आएका छन् ।
सन् २०१६ मा राष्ट्रपति विद्यादेवी भण्डारीको भारतको राजकीय भ्रमण हुँदा र सन् २०१८ मा युरोपको पोल्यान्डमा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा राष्ट्रपति भण्डारीसँगै भ्रमण दलमा उनी सहभागी भएकी थिइन् । सन् २०१० मा बंगलादेशको ढाकामा सम्पन्न साउथ एसियन गेममा सहभागी भएकी उनी सन् २०१९ मा संसदीय कार्यशाला गोष्ठीमा सहभागी हुन अमेरिकाको वाशिंगटन डीसी समेत पुगेकी थिइन् । जर्मनी, लन्डन, ओमान, पेरिस, साउदी अरेबिया लगायतका मुलुकमा समेत संसदको सार्वजनिक लेखा समितिको भ्रमण टोलीमा सहभागी भएर भ्रमण गर्ने अवसर उनले पाएकी छन् ।













