
भारतले शुक्रबार उद्घाटन गरिएको तवाघाट–लिपुलेक सडक आफ्नै भूमिमा निर्माण गरेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने जिकिर गरिएको छ ।
तीर्थालुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत उक्त सडक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परियोजनाअन्तर्गत सोही सडकलाई तीर्थालु, स्थानीय र व्यापारीलाई सहज हुने गरी स्तरोन्नति गरिएको मात्र हो ।’
भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचका सीमासम्बन्धी सबै विषय सम्बोधन गर्न संयन्त्र रहेको उल्लेख गर्दै सीमा निर्धारण प्रक्रिया चलिरहेको जनाएको छ । भारत सीमासम्बन्धी विषयहरूलाई नेपालसँगको निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाअनुरूप समाधान गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र सचिवस्तरीय वार्ताका लागि लामो समयदेखि आनाकानी गर्दै आएको भारतले उक्त बैठक राख्न तयार रहेको समेत जनाएको छ ।
विज्ञप्तिमा कोभिड–१९ को संकट टरेपछि दुवै पक्षबीचको सहमतिमा मिति तय गरेर सीमा सम्बन्धमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय बैठक गर्ने जनाइएको छ । ‘दुवै मुलुक र सरकारले कोभिड–१९ को आपत्कालीन चुनौतीलाई सफलतापूर्वक सामना गरिसकेपछि दुवै पक्षको सहमतिमा मिति टुंगो लगाएर विदेश सचिवस्तरीय वार्ता गर्ने प्रक्रिया जारी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।