२३ असार २०८३, मंगलबार

लकडाउनको समयमा पनि टिप्परको सास्ती– कतै तोडफोड, कतै प्रतिरोध !

रातभर ‘भुइँचालो जाने’ मल्पी क्षेत्रका स्थानीयले केही समय सन्तोषको सास फेरे
बैशाख २८, २०७७
लकडाउनको समयमा पनि टिप्परको सास्ती– कतै तोडफोड, कतै प्रतिरोध !

लकडाउन उल्लंघन गरेर टिप्पर चलाएको भन्दै ठाउँ–ठाउँमा विरोध भएको छ । कतै प्रतिरोध भएको छ भने कतै स्थानीयहरू तोडफोडमा उत्रिएका छन् । 

ललितपुर महानरपालिका बुंगमती क्षेत्रमा गएको बुधवार लकडाउन उल्लंघन गरेको भन्दै टिप्परमाथि तोडफोड गरे ।

अपरिचित व्यक्तिले तोडफोड गरेका १० वटा टिप्पर २ दिनसम्म भैँसेपाटीस्थित प्रहरी चौकी अगाडि राखिएका थिए । 

लकडाउन उल्लंघन गरेर टिप्पर सञ्चालन गरेको भन्दै काभ्रे पनौती मल्पी क्षेत्रका स्थानीय प्रतिरोधमा उत्रिएका छन् ।

मल्पी खेल मैदान संरक्षण समितिले टिप्परलाई प्रवेश निषेधको बोर्ड सकडमा राखेर विरोध जनाएका छन् । 

‘लकडाउन पालना गर्न भनेर सरकारले हामीलाई काममा जान नदिएर घरमै थुन्ने, टिप्परलाई चाहीँ निर्वाद चल्न दिने ?’ एक स्थानीयले मल्पी पुगेका पनौतीका मेयर भीम न्यौपानेसँग आक्रोश पोखे ।

स्थानीयले टिप्पर रोकेपछि मल्पी क्षेत्रमा तनावको स्थिति सिर्जना भयो । टिप्परले भत्काएको बाटो व्यक्तिगत पहलमा मर्मत गरिएकोमा लकडाउन अवज्ञा गर्दै टिप्पर गुड्न थालेपछि स्थानीय प्रतिरोधमा उत्रिएका हुन् । 

‘लकडाउनका कारण अन्य क्षेत्रमा असर परेपनि हामीले केही समय राहत पाएको जस्तो महसूस गर्‍यौं,’ स्थानीय कुमार राउतले भने ‘दिनरात टिप्परले जमिन थर्काएर भुइँचालो जस्तै हुन्थ्यो ।’

रातदिन गुड्ने टिप्परका कारण गर्भवती महिलाको स्वास्थ्यमा प्रभाव परेको समाचार लोकान्तरले चार वर्ष अगाडि प्रकाशित गरेको थियो । 

निर्माणको कामलाई निरन्तरता दिन भन्दै सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि पनौती–मल्पी क्षेत्रमा फेरि टिप्पर गुड्न थालेका छन् ।

‘पास नलिएका टिप्पर पनि गुडन थालेपछि हामी विरोधमा उत्रिएका छौं,’ एक स्थानीयले भने ।

यद्यपि आजबाट भने सरकारले निर्माण ढुवानी गर्ने साधनलाई पास नचाहिने व्यवस्था गरेको छ ।

टिप्पर गुडाउन प्रहरी, प्रशासन र स्थानीय तहका पदाधिकारीको मिलेमोतो रहेको स्थानीयले आरोप लगाए । 

‘अस्ति मोटरसाइकलमा आएका प्रहरीले टिप्परलाई किन रोकेको भनेर हामीलाई थर्काए, पुलिसको भ्यानमा राखेर लैजान्छु भनेर धम्क्याए,’ स्थानीय रुद्रबहादुर राउतले लोकान्तरसँग भने, ‘टिप्परको आतंक त छँदै छ, प्रहरी प्रशासनबाट पनि हामी पीडित छौं ।’

टिप्परले थर्काएर आफ्नो १२ कोठे घर भत्किएको दाबी उनले गरे ।

पनौतीदेखि मल्पी क्षेत्रको आवास र कृषि सडकमा टिप्पर चलाउन नमिल्ने उनीहरूले बताए ।

‘कोरोना संक्रमणको रेड जोनका ड्राइभर समेत आएर टिप्पर चलाउन थालेपछि हामी झनै त्रासमा छौं,’ एक स्थानीयले भने । 

स्थानीयहरू ज्यानको खतरा हुने भन्दै आफ्नो परिचय पनि खुलाउन मान्दैनन् । ढुंगाखानी र टिप्पर सञ्चालनमा स्थानीय प्रसासन, स्थानीय निकाय, ठेकेदार र प्रहरी मिलेको स्थानीयको आरोप छ ।

‘यो बाटो हेर्नुस् त टिप्पर चलाउन मिल्ने छ ? टिप्पर गुडाउने हो भने यसलाई राजमार्ग बनाए भयो नि ! जहाँ ट््र्याक खोल्यो त्यहाँबाट टिप्पर चलाउन मिल्छ ?’ अर्का एकले आक्रोश पोखे ।

salt training

कमेन्ट गर्नुहोस्