
धनुषामा मंगलवार कोरोना संक्रमण पाइएका ३ मध्ये एक पत्रकार रहेको खुलेको छ । संक्रमित २ पुरुष र १ महिला छन् । संक्रमित पत्रकार भने पुरुष हुन् ।
संक्रमित २ जना जनकपुर उपमहानगरपालिकाभित्रका हुन् भने एक जना धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० की महिला हुन् ।
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोकाअनुसार संक्रमण देखिएकी महिला लकडाउन हुनुअघि नै चैत्र १ गते भारतको दिल्लीबाट आफ्नो श्रीमान र १ बच्चासहित आएकी थिइन् ।
‘उनीहरू परिवारसहित दिल्लीबाट आएको करीब ५७ दिनपछि कोरोना पुष्टि भएको छ,’ नगरप्रमुख महतोले भने, ‘वैशाख २५ गते उहाँहरू तीनैजनाको स्वाब परीक्षण गराइएको थियो ।’
परिवारका ३ सदस्यमध्ये बाँकी २ जनाको रिपोर्ट निगेटिभ आएको छ । ‘सीडीओ सा’बले अब ती महिलाको सम्पर्कमा को–को आएका छन् भन्ने कुराको ट्रेसिङ गर्न भन्नुभएको छ,’ उनले भने, ‘अब भारतको दिल्लीबाट नै संक्रमित भएर आएको हो वा यहाँ लालगढमा आएर संक्रमित भएको हो भन्ने कुरा खुल्न बाँकी छ ।’
संक्रमित महिलामा रोगको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
जनकपुरका पत्रकारमा पनि संक्रमण
जनकपुरका एक जना पत्रकारमा पनि कोरोना संक्रमण पाइएको छ । वैशाख २४ गते नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा जनकपुरका २१ जना पत्रकारहरूको स्वाब संकलन गरिएको थियो ।
प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा उक्त स्वाबको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो ।
प्रादेशिक प्रयोगशालाका निर्देशक रामविनय साहले जनकपुरका २१ जना पत्रकारकै रिजल्ट नेगेटिभ आएको बताएका थिए ।
थप परीक्षणका लागि २१ जना पत्रकारको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पठाइएको उक्त स्वाबको थप परीक्षण गर्दा २ जनामा संक्रमण पाइएको छ ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रका अनुसार उक्त दिन पत्रकार सहित महासंघको कार्यालयमा तल सटर भाडा लिएर पुस्तक पसल सञ्चालन गर्दै आएका व्यक्तिमा समेत कोरोना पोजेटिभ पाइएको छ ।
‘सीडीओ सा’बले उक्त कुराको पुष्टि गर्दै जनकपुरका एक पत्रकार र पत्रकार महासंघको कार्यालय तल पुस्तक पसल सञ्चालन गर्दै आएका व्यक्तिमा समेत कोरोना संक्रमण पाइएको बताउनुभएको छ,’ नेपाल पत्रकार महासंघका अध्यक्ष मिश्रले भने, ‘संक्रमित उक्त पत्रकार र पुस्तक पसलेलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा एम्बुलेन्समार्फत लगिएको छ ।’
संक्रमित दुवैजना मानिस बसोबास गर्दै आएका क्षेत्रलाई स्थानीय प्रशासनले शीलबन्द गरेको छ । त्यसैगरी थप कन्ट्र्याक ट्रेसिङको काम समेत शुरू गरेको छ ।
पत्रकारहरू फिल्डमा रिपोर्टिङ गरिरहेको अवस्थामा बाहिर जाँदा संक्रमण हुन सक्ने भएकाले पत्रकारहरूले स्वेच्छाले आफ्नो स्वाब संकलन गराएका थिए ।
यसअघि पनि जनकपुरको पोर्टेबल पीसीआर मेशिनमा परीक्षण गर्दा नेगेटिभ आएको नमूना टेकुमा थप परीक्षण गर्दा पोजेटिभ आएको थियो ।
उक्त मेशिन हटाएर अहिले नयाँ मेशिन हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा तथा भाइरोलोजिस्ट विमलेश झा आफैं आएर जनकपुरमा दोस्रो मेशिन जडान गरेका थिए ।
तर, उक्त मेशिनमा पनि पुरानै समस्या दोहोरिएको छ । उक्त नयाँ मेशिनको परीक्षण पनि भरपर्दो देखिएको छैन ।