०३ साउन २०८३, आइतबार

कोरोना अस्पतालका सबै शय्या भरिए, थपिएका बिरामी कहाँ राख्ने ?

बैशाख ३१, २०७७
कोरोना अस्पतालका सबै शय्या भरिए, थपिएका बिरामी कहाँ राख्ने ?

बुटवल धागो कारखानाको कोरोना विशेष अस्पताल कोभिड–१९ का बिरामीले भरिएको छ ।

अस्पतालको आइसोलेसनमा रुपन्देही र कपिलवस्तुका ३६ जना बिरामीको उपचार भइरहेको छ । 

मंगलबार एकैदिन रुपन्देहीका ९ र कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएपछि शय्याको अभाव खड्किएको छ ।

अप्रत्याशित रुपमा रुपन्देही र कपिलवस्तुमा कोरोनाका बिरामी भेटिएपछि अब उपचार लागि शय्या अभाव देखिएको छ । अस्पतालका फोकल पर्सन तथा कन्सल्टेन्ट डा. सुदर्शन थापाले शय्या अभाव भएपछि मंगलवार कपिलवस्तुका ४ र रुपन्देहीका ५ जना बिरामीलाई भैरहवाको कोरोना उपचार अस्पतालको रुपमा विकास गरेको भीम अस्पतालमा बिरामीलाई पठाउनुपरेको बताए ।

५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार प्रदेशमा १८४ आइसोलेसन शय्या, २६ आईसीयू र १२ वटा भेन्टिलेटर छन् ।

डा. थापाले भने, ‘आइसोलेनसका ३६ शय्या थिए । ती सबै भरिए, अब आईसीयूका ८ शय्या मात्र छन् । क्रिटिकल अवस्थाका बिरामीलाई मात्र आईसीयूमा राख्ने हो । यहीँ अवस्थाले बिरामी बढ्दै जाने हो भने थग्न सक्ने अवस्था नै रहँदैन ।’

मंगलवार रुपन्देहीको कोटहीमाईका पहिलो संक्रमित २५ वर्षीया युवा निको भएर घर फर्किएका छन् । कोरोना अस्पतालमा अहिले डाक्टरसहित २० जनाको मात्र जनशक्ति छ ।

उपयोगविहीन रहेको धागो कारखानालाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा विकास गरेको थियो । बुटवलमा शय्या अभाव भएपछि ४ जना बिरामीलाई भैरहवाको भीम अस्पतालमा रिफर गरिएको छ । भीम अस्पतालमा अन्य बिरामीको पनि उपचार हुन्छ । जसले गर्दा अन्य व्यक्तिमा पनि संक्रमण फैलिने खतरा बढ्ने देखिन्छ ।

भीम अस्पतालका चिकित्सक डा. सुमित प्रजापतिले लुम्बिनी नगरपालिकाका ४ जना कोरोना संक्रमितलाई मंगलवार राति ११ बजे अस्पतालमा भर्ना गरिएको बताए ।

‘एउटै भवनमा अन्य उपचार र कोरोनाको उपचार गर्दा जोखिम बढी हुन्छ । यो अस्पताललाई कोरोनाका रुपमा विकास गर्दा प्रदेश सरकारले सोच्नुपर्ने हो । अहिले बिरामी नल्याउन भन्न पनि भएन,’ उनले भने । रुपन्देही र कपिलवस्तुमा अझै बिरामी बढ्ने देखिन्छ । भारतबाट लुकीछिपी आउने क्रम रोकिएको छैन ।

अस्पतालमा बिरामी भरिएपछि धागो कारखानामा २०० वटा आइसोलेसन शय्या थप गर्ने प्रदेश सरकारको तयारी छ । लुम्बिनी प्रादेशिक अस्पतालको मातहतमा रहेको अस्पताललाई विस्तार गरेर २०० शय्या थप्ने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । उनले कहिलेबाट काम शुरू हुन्छ भन्ने खुलाउन सकेनन् । ‘सरकारी प्रक्रिया हो । आजभोलिदेखि नै काम शुरू गर्ने भन्ने छ,’ उनले भने ।

रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै जाँदा कोरोना संक्रमित बिरामीको चापलाई मध्यनजर गर्दै शय्या थप गर्ने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए । 

५ नम्बर प्रदेशका ४ वटा अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा विकास गरिएको छ । दाङ, नेपालगञ्ज, बुटवल र भैरहवाका ४ अस्पताललाई प्रदेशमा कोरोना उपचार गर्न तोकिएको छ । आवश्यक परे प्रहरी र सेना अस्पताल पनि उपयोग गर्ने प्रदेश सरकारको तयारी छ ।

प्रदेशमा कोरानो संक्रमितको संख्या ७० पुगेको छ । कपिवस्तुमा २९, रुपन्देहीमा १७, बाँकेमा २४ बर्दियामा १ जना संक्रमित भेटिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्