
कालापानी भूभागमा भारतीय पक्षले सडक खनेको विषयमा आफूलाई थाहा थिएन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति कांग्रेस सांसदले आपत्ति जनाएकी छन् ।
बुधवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी अनिता देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धमा सरकारको धारणा माग गरेकी हुन् ।
‘समाचारमा आए अनुसार सम्माननीय प्रधानमन्त्रीले कालापानी भूभागमा सडक ट्याक खोलेको आफूलाई कसैले नभनेको कुरा आएको छ, साचो हो भने हामीलाई अत्यन्त आपत्तिजनक लाग्दछ । यसवारे सरकारको धारणा जानकारी गराउन माग गर्दछु’ उनले भनिन् ।
यसअघि प्रधानमन्त्री ओलीले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा कालापानीमा भारतले सडक खनेकोबारे आफूलाई जानकारी नभएको बताएकाे कुरा सञ्चारमाध्यममा आएको थियो ।
सीमामा काडेतार लगाए एक महिनाको तलव दिने
शून्य समयमा सांसद इन्दु कडरियाले नेपाल भारत सीमामा पर्खाल र काडेतार लगाउन माग गरिन् । ‘भारतको मिचाहा प्रवृत्तिले सीमामा बस्नेलाई आक्रान्त बनाएको छ ।
पूर्वपश्चिम सम्म, सीमा निर्धारण गरेर काडेतार र पर्खाल लगाउनुछ । सरकारले सीमामा काडेतार लगाएमा संसद सचिवालयबाट आउने एक महिनाको तलव दिन्छु’ कडरियाले भनिन् ।