
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको अवस्था बुझ्न पुगेका जेनजी मुभमेन्ट अलायन्सका तीन अभियानीमध्ये दुई जना रिहा भएका छन् ।
प्रहरी नियन्त्रणका क्रममा घाइते भएका माजिद अन्सारीलाई भने थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
शनिबार प्रहरीले माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई नियन्त्रणमा लिएको थियो। पछि सरिश्मा र नहेन्द्रलाई रिहा गरिएको जेनजी अभियानी तथा अधिवक्ता अरनव चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार प्रहरीको कुटपिटबाट अन्सारीको नाक, मुख र आँखामा चोट लागेको छ। कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई टिचिङ अस्पताल पठाइएको हो।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने होल्डिङ सेन्टरमा बाढी प्रभावितलाई स्थानान्तरण गर्ने क्रममा केही व्यक्तिले होहल्ला गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।
घटनापछि जेनजी मुभमेन्ट अलायन्सले विज्ञप्ति जारी गर्दै पक्राउ र कुटपिटको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।