०३ असार २०८३, बुधबार

पर्साका १४ मजदुरमा बागलुङमै कोरोना सर्‍यो ? उच्च सतर्कतासहित ‘कन्ट्याक्ट ट्रेसिङ’

बैशाख ३१, २०७७
पर्साका १४ मजदुरमा बागलुङमै कोरोना सर्‍यो ? उच्च सतर्कतासहित ‘कन्ट्याक्ट ट्रेसिङ’
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोटमा कार्यरत मजदुरमध्ये १४ जनामा पर्सा पुगेपछि कोरोना संक्रमित देखिएकाले गलकोटमा उच्च सतर्कता अपनाइएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि बुधवार बसेको विपद् व्यवस्थापन समितिको बैठकले नाकामा कडाइ गर्ने तथा कन्ट्याक्ट ट्रेसिङ तत्काल लिने निर्णय गरेको छ । 

सदरमुकामदेखि गाडीमा २ घण्टा पश्चिममा पर्ने गलकोट बागलुङको तेस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ । पर्सा लगायत जिल्लाका मानिसहरू गलकोटमा मजदुरी गर्दै आएका थिए । कार्यरत मजदुरले लामो समयको लकडाउनले आफूहरूलाई समस्या परेको भन्दै नगरपालिकासमक्ष बिन्ती बिसाएपछि नगरपालिकाले वैशाख ११ गते २ वटा गाडी बस्तोबस्त गरी उद्धार गरेर पर्सा पठाएको थियो ।

नवराज रेग्मी चालक रहेको बा३ख ९३०९ र ईश्वर क्षेत्री चालक रहेको बा४ख ५७९० नम्बरका २ वटा बसमा ७९ जना व्यक्तिलाई चढाएर पठाइएको थियो । जसमध्ये बा३ख ९३०९ नम्बरको गाडीमा ३९ जना र अर्कोमा ४० जना थिए । कोरोना संक्रमित भेटिएका १४ जना बाँडिएर दुवै गाडीमा रहेको हुँदा को कुन गाडीमा थिए भन्ने यकिन हुन सकेको छैन । 

विपत व्यवस्थापन समितिको बैठकपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले लोकान्तरसँग टेलिफोनमा भने, ‘यहाँ कार्यरत मजदुर पर्सामा संक्रमित देखिएपछि उच्च सतर्कता अपनाउने, नाकामा कडाइ गर्ने र ती मजदुरको सम्पर्कमा आएकाहरूको तत्काल पहिचान गरिने भएको छ ।’

पौडेलका अनुसार ती मजदुरमध्ये केही निर्माणाधीन हरिचौर स्वास्थ्य चौकीमा कार्यरत थिए । केही फर्निचर उद्योग, ग्यारेज, सडक लगायतमा कार्यरत थिए भने कोही चना–चटपट बेच्थे । उनीहरू वैशाख ११ गते साँझ हटियाबाट गाडी चढेर पोखरा हुँदै पर्सातर्फ लागेका थिए । पर्साको छिपहरमाई नगरपालिकाका मात्रै २९ जना थिए । त्यसबाहेक रौतहट र बारा जिल्लाका पनि थिए । 

ती मजदुर बागलुङमै रहँदा संक्रमित थिए वा पर्सामा संक्रमित भए भन्नेबारे यकिन हुन सकेको छैन । बुधवारको बैठकमा सहभागीमध्ये अधिकांशले उनीहरू (मजदुर) गलकोटमा रहँदा शारीरिक स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा यहाँ संक्रमित हुने सम्भावना नरहेको तर्क गरेका थिए ।

यसैबीच, बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बागलुङमा यसअघि पनि २ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउँदै आएकोमा पछिल्लो केसले ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित गलकोट नगरपालिकामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताए । 

बागलुङबाट पर्सा हिँडेका उनीहरूलाई भने पोखरा आएपछि कास्की प्रशासनले रोकेको थियो । एक रात पोखरामै गाडीमा बिताएका उनीहरू बाटोमा अलपत्र परेपछि सम्बन्धित छिपहरमाई गाउँपालिका अध्यक्षसँग टेलिफोन कुराकानीमा क्वारेन्टाइन व्यवस्था भए पठाउने भनिएपछि कास्कीले अनुमति दिएको थियो ।

बागलुङबाट हिँडेको तेस्रो दिन वैशाख १३ गते मात्र उनीहरू पर्सा पुगेका थिए । पर्साको मंगल माविमा निर्माण गरिएको क्वारेन्टाइनमा मजदुरलाई राखिएको थियो । निर्माणको काममा रहेका बेला मजदुरहरू विभिन्न समूहमा रहेकाले समुदायको सम्पर्कमा नआएको र निकै कम व्यक्तिसँग मात्र सम्पर्क हुनसक्ने गलकोट नगरपालिकाको दाबी छ । 

पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ मध्ये १४ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टाइनमा राख्ने बेला नै १ जनामा उच्च ज्वरो देखिएकाले सम्बन्धित गाउँपालिका अध्यक्षकै पहलमा विशेष निगरानीमा क्वारेन्टाइन राखिएको थियो ।

गण्डकी प्रदेशअन्तर्गत बागलुङमै २ जनामा कोरोना संक्रमण देखिएकोमा उनीहरू दुवै जना निको भइ घर फर्किसकेका छन् । प्रदेश राजधानी पोखरा भने कोरोना संक्रमणबाट हालसम्म जोगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्