कोरोनाभाइरसको संकट चल्दै गर्दा चीन र ताइवानबीच विवाद बढिरहेको छ ।
चीनले दक्षिण चीन समुद्रमा ताइवानको नियन्त्रणमा रहेको दोङशा टापुसमूहमा कब्जा गर्नका लागि युद्धाभ्यास गर्ने घोषणा गरेसँगै तनाव बढेको हो । ताइवानले जुन महिनामा फायरिङ अभ्यास गर्ने जनाएको छ ।
अभ्यासका क्रममा दोङशा टापुसमूहमा मोर्टार र मशिनगन पोजिसनको परीक्षण गरिनेछ ।
दोङशा टापुसमूहमा एक टापु र दुई कोरल रीफ छन् । त्यसका दुई किनारा छन् । ताइवानले त्यसलाई नेसनल पार्क घोषणा गरेको छ ।
चीनको जनमुक्ति सेनाले अगस्ट महिनामा दक्षिण चीन समुद्रमा व्यापक स्तरमा अवतरणको अभ्यास गर्ने खबर सोमवार आएको थियो । दोङशा टापुमा नियन्त्रण कायम गर्ने यो छद्म अभ्यास हुनेछ ।
जनमुक्ति सेनाको ल्यान्डिङ अभ्यासलाई दक्षिण थिएटर कमान्डले आयोजना गर्नेछ । त्यसमा व्यापक स्तरमा युद्धपोत, होभरक्राफ्ट, हेलिकप्टर र मरिनहरू परिचालन गरिनेछन् ।
ताइवानले पनि प्रतिरक्षाका लागि दोङशा टापु समूहमा कोस्ट गार्डका दुई स्क्वाड्रन तैनाथ गरेको छ ।
चीनले कोरोनाभाइरसलाई हराएपछि आफ्नो ध्यान दक्षिण चीन समुद्रमा केन्द्रित गरेको छ । त्यहाँ उसको आक्रामकता देखेपछि अमेरिकाले पनि तीनवटा युद्धपोत पठाएको छ ।
चीनले उक्त समुद्रमा पेट्रोकेमिकल र अन्य मिनरलहरू निकाल्न चाहेको र उक्त क्षेत्रमा आणविक रियाक्टर पनि बनाउन खोजेको बताइएको छ ।