
संसारभरि कोरोनाभाइरसका कारण अनेकौं देश आर्थिक संकटमा परेको भए पनि शक्तिशाली देशहरूले आणविक हतियार जोड्नका लागि अर्बौं रुपैयाँ खर्च गरेका छन् ।
जेनेभामा रहेको इन्टरनेसनल क्याम्पेन टु एबोलिश न्युक्लीयर वेपनका अनुसार, संसारका आणविक शक्तिसम्पन्न १० मुलुकले एक वर्षमा ७५ अर्ब डलर आणविक हतियारमा खर्च गरेका छन् ।
यति धेरै रकमले संसारभरिका मानिसलाई कोरोनाभाइरसबाट बचाउन अनि स्वास्थ्यसम्बन्धी अनुसन्धान र सामग्री आपूर्ति सहजै हुन सक्थ्यो । यी देशहरूले खर्च गरेको पैसाले कम्तीमा एक लाख आईसीयू बेड, हजारौं भेन्टिलेटर किन्न सकिन्थ्यो अनि हजारौं नर्स र डाक्टरलाई तलब दिन सकिन्थ्यो ।
उक्त संस्थाको प्रतिवेदनअनुसार, अमेरिका, रुस र बेलायतले आणविक हतियारको संख्या घटाइरहेका छन् । फ्रान्स र इजरायलको हतियारको संख्या स्थिर छ । अन्य देशले चाहिँ संख्या बढाइरहेका छन् ।
आणविक राष्ट्रहरूले आफ्ना हतियार आधुनिकीकरण गरिरहेका छन् र नयाँ हतियार पनि किनिरहेका छन् ।