
दाङ जिल्लामा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । लमही, घोराही र तुलसीपुर क्षेत्रका किसानले पुरानो जातको धान सिम्ठारो, तिल्की, विन्देश्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी लगाउने गरेका थिए । पछिल्लो समयमा यी सबै जातका धान जिल्लामा कृषकले लगाउन छाडेका छन् ।
लमही–५ का रेशमबहादुर खड्काले पहिले रैथाने धानको खेती गर्ने गरे पनि हाल सो धानको खेती हराउँदै गएको बताए ।
‘जिल्लामा सिम्ठारो, तिल्की, विन्देश्वरीलगायत रैथाने धानको खेती गर्न छाडेका छन्’, उनले भने ।
पछिल्लो समयमा जिल्लामा कृषकले हाइब्रिड बीउ प्रयोग गर्ने बढेका छन् । धेरैजसो किसानको रोजाइ हाइब्रिड जातका धान नै छ ।
धेरै उत्पादन हुने तथा कम सिँचाइ र हेरचाहबाट पनि धान उत्पादन हुने भएका कारण धेरैको रोजाइमा रैथानेभन्दा अन्य उन्नत र हाइब्रिड धानको खोतीतर्फ कृषक आकर्षित हुने गरेको स्थानीयवासी कृष्ण गिरीले बताए ।
‘रैथाने धान हाइब्रिड र उन्नतभन्दा अलि कम उत्पादन हुन्छ, यसलाई धेरै मेहनेत चाहिन्छ, त्यसैले गर्दा पनि रैथाने धान लगाउन कृषक चाहँदैनन्’, उनले भने ।
कृषि प्राविधिक माधव केसीले पुरानो जातको पुस्ता शुद्धीकरण नगर्नु र राज्यले स्थानीय जातको पुरानो धान उत्पादन बढाउन ध्यान नदिनुले लोप हुन पुगेको बताए ।
‘यसलाई बढावा दिन सचेतना, प्रचारप्रसार, तालीम र मौलिकतालाई ध्यान दिनुपर्छ', उनले भने ।
पछिल्लो समय किसानले युएस ३१२, युएस ३०५, भीएनआर २२२३, २२४५ र उपजलगायत हाइब्रिड जातका धान बजारबाट खरीद गरी लगाउने गरेका छन् ।
रैथाने धान उत्पादन प्रबर्द्धन गर्न कृषि ज्ञानकेन्द्रले किसानलाई अनुदानसमेत दिने गरेको छ । जिल्लामा आवश्यक मूल्य तिरेर पनि रैथाने धान पाउन सकिएको छैन ।
कृषि ज्ञानकेन्द्र दाङका कृषि प्रसार अधिकृत भरत पोख्रेलका अनुसार रैथाने धान प्रबद्र्धन गर्न अनुदानसमेत दिने गरिएको छ ।
‘पुरानो जातको धानको प्रवर्द्धन हुन नसक्नुमा सबैभन्दा समस्या उत्पादन कम हुनु नै हो, यसमा स्वयं किसान जागरुक हुनु आवश्यक छ', उनले भने ।
जिल्लामा करीब ७० प्रतिशत जति हाइब्रिड धानको खेती हुने गरेको छ । अन्यले उन्नत र केही कृषकले भने आफूहरुले खानका लागि रैथाने धान लगाउने गरेका छन् ।
जिल्लामा करीब ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गरेको छ । बजारमा भने स्थानीय जातको धानको चामलको माग बढ्दो छ ।
हाल बजारमा विभिन्न अन्य जातका धानको चामल सहजरुपमा पाउने गरे पनि स्थानीय जातको धानको चामलको भने अभाव छ ।
‘बजारमा तिल्की, सावा, मन्सुलीलगायत स्थानीय धानको मसिना चामलको माग धेरै छ’, व्यवसायी निर्मल शर्माले भने, ‘खेती नै हुँदैन, कहाँ पाउनू ?', उनले भने ।