
इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट शुरू गरेको छ ।
जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार शुरू गरेको जानकारी इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले दिए ।
यससँगै अब जापानमा रहेका नेपालीले इसेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए ।
जापानबाट कारोबार शुरू भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने, ‘हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौं । अबदेखि कुनै पनि ठाँउमा रहनुभएका नेपालीहरूले छिटो, छरितो र सुलभ माध्यमबाट नेपालमा पैसा पठाउन सक्नुहुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’
इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु उद्देश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करीब २ महिनाअघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरेको थियो ।