
नारायणी अस्पताल वीरगंजमा उपचार गराउन भर्ना भएका संक्रमित बिरामीमध्ये भागेका २ जना बिरामीलाई पक्राउ गरेर पुनः अस्पतालमा भर्ना गराइएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले जेठ २ गते गरेको मिडिया ब्रिफिङमा उनले उक्त कुरा बताएका छन् ।
फरार भएकामध्ये एक जना अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा नआएको तथा अर्को एक जना सम्पर्कमा आएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिकाका एक जना मानिसमा ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । धोबिनी गाउँ पालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीका अनुसार वीरगंजको छपकैया स्थित एउटा कारखानामा काम गर्दै आएका उनी भारतको दिल्लीस्थित मर्कसबाट फर्कर आएका जमातीहरुको सम्पर्कमा रहेका कारण कोरोना संक्रमित भएका थिए ।
वैशाख ३१ गते अस्पतालको माथिल्लो तल्लामा भर्ना भएका उनी शौचालयको पाइपबाट ओर्लेर भागेको कुरा आफूलाई जानकारीमा आएपछि उनको खोजी कार्यमा लागेको अध्यक्ष कुर्मीले लोकान्तरलाई बताए ।
‘केही दूरी उनी पैदल नै आई रहेका थिए भने केही समयपछि उनी आफ्नो एक जना आफन्तको मोटरसाइकलमा बसेर गाउँ आएका थिए,’ अध्यक्ष कुर्मीले भने,‘त्यति मात्र होइन संक्रमित व्यक्ति उनको घरमा बसेको तथा दिनमा खाना समेत खाएका थिए ।’
संक्रमित व्यक्तिलाई मोटरसाइकलमा चढाएर ल्याउने व्यक्ति भने दूध बिक्रीवितरण गर्ने काम गर्छन् । दूध बेच्न प्रत्येक दिन वीरगंजसम्म मोटरसाइकलमा जाने गर्छन् ।
‘चिनजान तथा आफन्त नै भएका कारण उनले संक्रमित व्यक्तिलाई मोटरसाइकलमा चढाएर आफ्नो घरसम्म लगेर खाना खुवाएका थिए,’ अध्यक्ष कुर्मीले भने,‘बुधबार राति साढे ९ बजे उनलाई प्रहरीको सहयोगमा पक्राउ गरेर उनलाई फेरि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएका थियौं ।’
मोटर साइकल चालकसहित उनका घर परिवारका कुल ५ जना सदस्यलाई गाउँको विद्यालयमा संचालित क्वारेन्टाइनमा राखिएको छ ।
‘चालकको ३ महिनाको छोरासमेत भएका कारण उनका श्रीमती र काखे छोरालाई आजबाट घरमै क्वारेन्टाइन गराउने तयारी गरेका छौं,’ अध्यक्ष कुर्मीले भने, ‘यूएनआई सहित बाँकी ३ जनालाई भने विद्यालयको क्वारेन्टाइनमै राखिएको छ ।’
सम्पर्कमा आएका सबै जनाको स्वाब संकलन समेत गरिएको छ ।
उनीहरु किन भागे भन्ने कुरा खुल्न सकेको छैन । अर्को मानिसलाई भागेको केही समयपछि नै बाटो बाट नै पक्राउ गरेर अस्पतालमा पुनः ल्याइएको थियो । भाग्ने दुवै जना वीरगंजकै थिए ।