
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनलाई प्रदेशमा थप कडाइ गरिने बताएका छन्।
बिहीबार पोखरामा आयोजित कार्यक्रममा उनले मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको संक्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न लागिएको जानकारी गराए।
अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय लकडाउन मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उनले उल्लेख गरे। मुख्यमन्त्री गुरुङले भने, ‘मानिसहरु पहिले घर जान हतारिए र अहिले फेरी आउन हतारिएका छन्, लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, खान नपाए बरु सरकारसँग माग गर्ने हो, लकडाउनको विकल्प छैन।’