१० साउन २०८३, आइतबार

लगानी, पूर्वाधार र रोजगार सम्बन्धमा अध्ययन गर्न कांग्रेसले गठन गर्‍यो विशेष समिति

लगानी, पूर्वाधार र रोजगार सम्बन्धमा अध्ययन गर्न कांग्रेसले गठन गर्‍यो विशेष समिति
file photo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना’ नामको विशेष समिति गठन गरेको छ ।

गत वैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेका हुन् ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’लाई सुझाव दिने बताइएको छ । 

त्यस्तै समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ । समितिको संख्या २१ मा नबढ्ने गरी थप गरिने कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

समितिका संयोजक उद्योगपति तथा कांग्रेसका सांसद विनोद चौधरी रहेका छन् । तत्कालका लागि १५ सदस्यीय बनाइएको समितिमा दिपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जीपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

केही दिन अघि सभापति देउवाले पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्