११ साउन २०८३, सोमबार

लामो समय रोकिएपछि आफ्नै भूमिमा फर्किने तयारीमा नेपाली तथा भारतीय

जेठ २, २०७७
लामो समय रोकिएपछि आफ्नै भूमिमा फर्किने तयारीमा नेपाली तथा भारतीय

लामो लकडाउनपछि भारतमा रहेका नेपाली र नेपालमा रहेका भारतीयहरूलाई फर्काउने तयारी भएको छ ।

कोरोनाको महामारीपछि जारी लकडाउनका कारण जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने नेपाल र भारत सरकारबीच भएको सहमतिपछि लामो समयसम्म सीमा वारिपारि फसेका नागरिकहरू आ–आफ्नै देश फर्किने तयारीमा छन् ।

भारतको सरकारको आग्रहमा कैलालीमा रहेका भारतीय नागरिकहरूलाई भारत पठाउने तयारी थालिएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा कैलालीका विभिन्न स्थानमा रहेका भारतीय नागरिकहरूको नामावाली संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई भारत पठाउने प्रक्रिया थालिएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता तथा प्रशासकीय अधिकृत शिवराज जोशीले आजसम्म विभिन्न स्थानीय तहमा रहेका ८ सय बढी भारतीयको नामावली संकलन भइसकेको र आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई भारत पठाइने बताए ।

टीकापुरमा रहेका २६ र जोशीपुरमा रहेका ४ जना भारतीय नागरिकलाई शुक्रबार धनगढी ल्याइएको छ ।  

उनीहरूलाई धनगढीको त्रिनगर माध्यामिक विद्यालयमा राखिएको छ । त्रिनगरमा १०३ जना भारतीय नागरिक पहिलेदेखि नै क्वारेन्टाइनमा छन् ।

जिल्लाभरिका नामावली संकलन पूरा भइसकेपछि भारतीय नागरिकहरूलाई भारत पठाइने जोशीले बताए ।

१८० जना नेपाली पलियाबाट फर्किँदै

यसैबीच सीमावर्ति भारतीय बजार पलियामा ४९ देखि क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई पनि शुक्रबार नेपाल प्रवेश गराउने पहल भएको छ ।

पलियामा कैलालीका ७५, कञ्चनपुरका ५१, बैतडीका १९, डडेल्धुराका १५, सुर्खेतका ८ बझाङका ३, डोटीका ३, दैलेखका २ जना, कास्की, सिन्धुली, रौतहटका एक/एक गरी एक सय ८० जना रहेका छन्, जसमध्ये ४ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

उनीहरूले उद्धारका लागि आग्रह गर्दै आएपनि गृहमन्त्रालयको अनुमति नपाउँदा उद्धार हुन  सकेको थिएन । स्थानीय प्रशासनको लामो समयको प्रयासपछि उनीहरूको शुक्रबार उद्धार हुन लागेको हो ।

उनीहरूको उद्धारको विषयमा बिहीवार मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका बीचमा छलफल भएको थियो ।

उनीहरूको साँझसम्म उद्धारका लागि पहल भइरहेको प्रशासनले जनाएको छ । त्यसका लागि भारतको खिरी जिल्लाका अधिकारीसँग छलफल भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्