
अमेरिकामा कोभिड–१९ महाव्याधिले भयावह रूप धारण गरिरहेको छ । अहिलेसम्म त्यहाँ ८४ हजारजनाको ज्यान गइसकेको छ ।
यति हुँदा पनि ट्रम्प प्रशासन गम्भीर देखिएको छैन । उसलाई अर्थतन्त्र र आगामी चुनावको मात्र पीर छ ।
अमेरिकामा वृद्ध र गरीबहरू महाव्याधिको बढी शिकार बनिरहेका छन् । ताजा समाचारहरूका अनुसार, अमेरिकाका वृद्धाश्रम र अन्य स्थानमा रहेका २६ हजार वृद्ध र कर्मचारीहरूको मृत्यु भइसकेको छ ।
ट्रम्प प्रशासनले वृद्धहरूलाई बचाउन नसकेको स्पष्ट देखिएको छ । उनीहरूलाई प्रशासनले ध्यान नदिएको पाइएको छ ।
चुनावमा वृद्ध मतदाताहरूको महत्त्वपूर्ण योगदान रहनेछ । राष्ट्रपति डोनल्ड ट्रम्प वृद्धहरूको मतमा निर्भर रहँदै आएका छन् । विपक्षी डेमोक्रेट उम्मेदवार जो बाइडन चाहिँ युवाहरूमाझ लोकप्रिय छन् ।
आफूहरूप्रतिको व्यवहारले वृद्धहरूलाई आक्रोशित बनाएको हालैका सर्वेक्षणमा देखिएका छन् । यसले चुनावमा कुन न कुनै असर पार्ने मानिएको छ ।
अमेरिकामा कोभिड–१९ को ताण्डव मच्चिइरहने अनि वृद्धहरू तथा अन्य मानिसहरू मर्ने सिलसिला जारी रहने हो भने ट्रम्पका लागि समस्या पर्न सक्छ ।