
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका विषयमा चीनसँगको सम्बन्ध थप बिग्रिएको संकेत दिँदै चीनका राष्ट्रपति सी चिनफिङसँग बोल्ने कुनै रुचि नरहेको बताएका छन् । संसारको दोस्रो ठूलो अर्थतन्त्रसँग सबै सम्बन्ध कटाउन सक्ने पनि उनले बताएका छन् ।
फक्स बिजनेस नेटवर्कसँगको अन्तर्वार्तामा बिहीवार ट्रम्पले भाइरस रोक्नका लागि चीनले प्रयास नगरेको अनि महाव्याधिले बेइजिङसँगको व्यापार सम्झौता पनि धरापमा पारेको बताए ।
‘उनीहरूले यो हुनै दिन हुँदैनथियो । मैले राम्रो व्यापार सम्झौता गरेको थिएँ र अहिले मलाई त्यो मन परिरहेको छैन । सम्झौताको मसी सुक्नै लाग्दा महाव्याधि आइपुग्यो । मलाई पहिलेको जस्तो उत्साह छैन,’ ट्रम्पले भने ।
ट्रम्पले सीप्रति पनि गुनासो गरे जबकि पहिलेपहिले उनले सीसँगको सम्बन्ध राम्रो रहेको बताउने गरेका थिए ।
‘अहिले मलाई उनीसँग बोल्न मन छैन,’ ट्रम्पले अन्तर्वार्ताका क्रममा बताए ।
एकजना रिपब्लिकन सिनेटरले क्वान्टम कम्प्युटिङ र कृत्रिम बौद्धिकता अध्ययनका लागि निवेदन दिने चिनियाँ विद्यार्थीहरूलाई अमेरिकी प्रवेशाज्ञा नदिने सुझाव दिएको विषयमा ट्रम्पलाई सोधिएको थियो ।
‘हामीले धेरै कुरा गर्न सक्छौं । हामीहरू पूरै सम्बन्धलाई नै कटाउन सक्छौं,’ उनले जवाफ दिए ।