चीनले नोभेल कोरोनाभाइरसका केही स्याम्पलहरू संक्रमणको आरम्भिक चरणमा नष्ट गरेको स्वीकार गरेको छ । तर ढाकछोप गर्नका लागि यसरी नमूना नष्ट गरेको भन्ने अमेरिकाको आरोप चाहिँ उसले अस्वीकार गरेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा शिक्षा इकाइका सुपरीवेक्षक लिउ देङफेङले शुक्रवार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताएअनुसार, चिनियाँ सरकारले जनवरी ३ मा सरुवा रोगको व्यवस्थापनका लागि योग्यता हासिल नगरेका प्रयोगशालालाई कोरोनाभाइरसका नमूना नष्ट गर्न आदेश दिएको थियो । प्रयोगशालाको जैविक सुरक्षा र पहिचान नखुलेका रोगाणुले ल्याउने विपत्तिबाट जोगाउन यस्तो आदेश दिइएको थियो ।
अनुसन्धान र विज्ञको सिफारिशका आधारमा उक्त नोभेल कोरोनाभाइरस उच्च रोगाणुयुक्त भएको थाहा पाएपछि सरकारको आदेश आएको लिउले बताए । भूलवश भाइरस लीक नहोस् भनी रोगाणुको नमूनाको संकलन, पारवहन, प्रयोगात्मक उपयोग तथा विनाश रोक्न यो निर्णय लिइएको उनको भनाइ छ ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले जनवरी ३ मा चीनले दिएको आदेश संक्रमणको खबर ढाकछोप गर्नका लागि भएको बताउँदै आएका छन् । उनले कोरोनाभाइरसका सम्बन्धमा गरिएको अनुसन्धान रोक्न अनि रोगसँग लड्ने अन्तर्राष्ट्रिय प्रयासलाई प्रभावित पार्न चीनले कदम चालेको आरोप पनि लगाएका छन् ।
बेइजिङको कदमको प्रतिरक्षा गर्दै लिउले भाइरसलाई सुरक्षित स्थानमा राख्नका लागि नष्ट गर्ने आदेश दिएको अनि अमेरिकी अधिकारीहरूले सन्दर्भभन्दा पर गएर मानिसलाई झुक्याउने किसिमले टिप्पणी गरेको प्रतिक्रिया दिए ।