
कोभिड–१९ (नोवेल कोरोनाभाइरस)को संक्रमण फैलिएपछि उपत्यकाका १० ठाउँ सिल गरिएको छ ।
कोरोनाभाइरसको संक्रमण काठमाडौं उपत्यकामा पनि फैलिएपछि उच्च सर्तकता अपनाउँदै उपत्यकाका १० ठाउँ सिल गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३०० मिटर क्षेत्र सिल गरिएको छ ।
यस्तै ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी एरियामा पनि सिल गरिएको छ ।
‘उपत्यकामा उच्च जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउँदै कडा गरिएको छ,’ महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरललले भने ।
पछिल्लो सयमा काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि कोरोनाको संक्रमण देखिएपछि डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
हिजो (शनिवार) मात्रै टिचिङ अस्पतालबाट सुत्केरी भएर गएकी सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– ९ निवासी २९ वर्षीया एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।
ललितपुरको आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण फैलिएपछि दुवै अस्पताल सिल गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरिएको थियो ।
कोभिड–१९ बाट मृत्यु भए परिवारले शव छुन नपाउने
नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाए भने सो व्यक्तिको परिवार तथा आफन्तले मृतक व्यक्तिको शव समेत छुन नपाउने भएका छन् ।
कोरोनाभाइरसबाट मृत्यु हुनेको शवलाई एकमिटर परबाट मात्रै हेर्न पाउने भएका छन् । कोभिड— १९ संक्रमण हुने जोखिमलाई ध्यानमा राखेर कुनै संक्रमितको मृत्यु भए उसका आफन्तले हेर्न चाहेको खण्डमा एकमिटर पर बसेर मात्रै हेर्न पाउने भएका हुन् ।
मेडिकल काउन्सिलको टेक्निकल सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको कोभिड— १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको छ ।
शवलाई व्यक्तिको धर्मअनुसार परिवारले नछोइकन परैबाट तिल तथा पानी छर्कने तथा फूलमाला लगाउन भने पाउने छन् ।
कोभिड—१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शवसँग हेलमेल हुने उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेपनि यस्ता संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले नेपालमा पनि भविष्यमा कोरोना भाइरसबाट मृत्युभएका व्यक्तिको परिवारले छुन नपाउने व्यवस्थासहित निर्देशिका जारी गरिएको हो ।
यस्तै अब केही समयसम्म मृत्यु हुने सरकारले ६० वर्षभन्दा माथि र दीर्घरोगका बिरामीलाई शवको नजिक जान समेत रोक लगाइने भएको छ । कोभिड— १९ बाट वृद्धवृद्धा र दीर्घरोगका बिरामीहरू उच्च जोखिममा भएकाले उनीहरूलाई शवको नजिक जान प्रतिबन्ध लगाइएको हो ।
कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएकाहरूको शवको सदगद गर्दा विशेष सवाधानी अपनाउनुपर्ने हुँदा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगद गर्ने व्यक्तिहरू र सदगदमा सहभागी हुने मृतकका आफन्तले पञ्जा, चश्मा, टोपी, मास्कसहितको पीपीई अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने समेत व्यवस्था निर्देशिकामा गरिएको छ ।
गत माग पहिलो हप्ता चीनबाट फर्किएका नेपालीमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएकोमा पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २ सय ९२ जना पुगेको छ, जसमा २ जनाले ज्यान गुमाएका छन् भने ३६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।