
बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवाको आइतबार कोभिड-१९ बाट मृत्यु भएको छ । भारतको मुम्बइबाट आएर जिल्ला छिरेका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
उनी २ साताको यात्रा गरेर आएका थिए । उनका खुट्टा सुनिएका थिए । शनिवार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एम्बुलेन्स खोज्दाखोज्दै उनको मृत्यु भएको बताए ।
‘गाडी, पैदल गर्दै उनी जिल्लामा आउँदा खुटटा सुनिएका थिए । उनलाई कुनै दीर्घरोग भएको मलाई थाहा छैन । हिजो राति एक्कासी ज्वरो आयो । बान्ता पनि गरेका रहेछन । त्यस्तै स्वास्सप्रस्वासमा पनि समस्या देखिएको थाहा भएर एम्बुलेन्स खोजिँदै थियो । एक्कासी क्वारेन्टाइनमै मृत्यु भयो,’ अध्यक्ष शाहले लोकान्तरसँग भने ।
एक साता अगाडि (वैशाख ३० गते) उनी लुकीछिपी भारतको मुम्बइबाट गाउँमा आएका थिए । शनिबार नै उनको पीसीआर जाँचका लागि स्वाब संकलन भए पनि आइतवार रिर्पोट आएको हो । उनी प्रदेश पाँचमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्रालयका सचिव गोपी खनालले शवको दाहसंस्कारका लागि तयारी भइरहेको बताए ।
‘सामाजिक विकास मन्त्रालयको टीम शवको कसरी छिटो दाहसंस्कार गर्ने भन्ने तयारीमा जुटेको छ,’ खनालले भने ।
बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । बाँकेको कोरोना अस्पताल बिरामीले भरिएपछि २ दिन अगाडिदेखि नै नरैनापुर गाउँपालिका ८ संक्रमितलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लगिएको छ । प्रदेश नम्बर पाँचमा १ सय ५ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।