२३ असार २०८३, मंगलबार

कोरोना संक्रमण भेटिएपछि धादिङको जुँगेखोला क्षेत्र सिल

कोरोना संक्रमण भेटिएपछि धादिङको जुँगेखोला क्षेत्र सिल

थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ ।

जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा थाक्रे गाउँपालिकामा जेठ ६ गते बसेको जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिको बैठकले गाउँबाट कोही मानिस बाहिर जान नपाइने र भित्र आउन नपाइने गरी सिल गरिएको छ ।

बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा २ बमोजिम जेठ ६ गतेदेखि ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

बैठकले उल्लिखित चार किल्ला क्षेत्रभित्र पूर्ण सिलबन्दी गर्ने, पूर्णरूपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकताअनुसार नेपाली सेनाले भेइकल पेट्रोल गर्नेलगायत निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए ।

कोरोना संक्रमित काठमाडौंको बागबजारमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी गत चैत ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौं नै फर्किएका थिए ।

गाउँको स्थानीय व्यक्तिलाई कोरोनाको संक्रमण देखिएपछि अहिले थाक्रे–८ को जुँगेखोला क्षेत्रलाई जिल्ला सुरक्षा समितिले सिल गरेको छ ।

संक्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नका लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली बनाइएको छ । कन्ट्र्याक ट्रेसिङ गरिएपछि सबैको कोरोना परीक्षण गरिने योजना रहेको छ ।

यसैगरी जेठ ५ गते धादिङबेँसीमा ११४, गजुरीमा ७५, गल्छीमा ३५ ज्वालामुखीमा ६ जनाको कोरोना द्रुत परीक्षण (आरडीटी) परीक्षण गरिएकामा धादिङबेँसीमा तीन र गजुरीमा तीन गरी ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाको स्वाब जम्मा गरी परीक्षणका लागि पठाइने छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केन्द्रित गरी आरडीटी परीक्षण गरिएको हो । दोस्रोपटक आएको आरडीटी किट धादिङका १३ स्थानीय तहमा बाँडिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्