
सरकारले सार्वजनिक गर्यो लिपुलेक र लिम्पियाधुरासहितको नक्सा
सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले बुधवार नेपाल टेलिभिजनमार्फत् भर्चुअल पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेकी हुन् ।
मन्त्रालयले तयार गरेको नक्सालाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृति पाएको २ दिनमा नक्सा सार्वजनिक भएको हो ।
नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले आफू गौरवान्वित भएको बताइन् । ‘आज मलाई अत्यन्त खुसी लागेको छ,’ उनले भनिन्, ‘यसमा आम नेपालीले देखाएको चासोप्रति आभार व्यक्त गर्न चाहन्छु । अहिलेसम्म उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको भरमा हामीले यो कदम चालेका हौँ ।’
उनले यो अवसर सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण रहेको बताइन् । ‘यो समय युगको सर्वाधिक स्मरणीय क्षण हो,’ मन्त्री अर्यालले भनिन्, ‘नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मनोबललाई अझ उच्च बनाएको छ ।’
मन्त्री अर्यालले अब सबै ठाउँमा नयाँ सार्वजनिक भएको नक्सा प्रयोग गर्न आग्रह गरिन् ।
नक्सा सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मंगलवार मन्त्री अर्यालले सीमाविद्, नापी विभागका पूर्व निर्देशकलगायत विषय विज्ञहरूसँग छलफल गरेकी थिइन् ।
छलफलमा नक्साको सैद्धान्तिक आयामका बारेमा कुराकानी भएको थियो ।
गत नोभेम्बरको पहिलो साता भारतको गृहमन्त्रालयले सार्वजनिक गरेको भारतको नक्सामा यी तीनवटै भू-भागलाई समेटिएको थियो ।
नेपालमा त्यसको चर्को विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएर कूटनीतिक समाधान खोज्ने प्रतिबद्धता जनाएका थिए ।
त्यतिबेलै संसद्को राज्यव्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई नेपालले पनि आफ्ना भू–भागहरू समेटेर नक्सा प्रकाशित गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रधानमन्त्रीले छाउनीमा ब्रिफिङ लिएपछि विदेशबाट आउनेको व्यवस्थापनमा जोड दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् ।
छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन् ।
एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो । ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले महामारी नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो ।
कोभिड १९ सङ्क्रमणको स्थिति, आगामी दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिनुभएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रंोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए ।
कोरोना जोखिम नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताका आधारमा प्रयोग गरिने केन्द्रको भनाइ रहेको छ । हालसम्म अपनाइँदै आएको रणनीतिमा परिवर्तन गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य स्थिति बिग्रन नदिन खानपान, सरसफाइ, शौचालयलगायतको उचित व्यवस्थापन गर्न केन्द्रलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण सङ्क्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता सङ्क्रमित व्यक्तिको पहिचान गर्न पनि उनले निर्देशन दिएका थिए ।
कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता आँैल्याइएको छ ।
सङ्क्रमित व्यक्ति आवतजावत र सम्पर्क भएको क्षेत्रलाई प्राथमिकीकरण गरी परीक्षणको दायरा बढाइएको केन्द्रले जनाएको छ । योजनाबद्धरुपमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ । रोजगारीलगायतका कारण विदेशमा रहेका र कोरोनाका कारण स्वदेश फिर्ता हुन चाहने व्यक्तिको पहिचान गर्न परराष्ट्र मन्त्रालयबाट तत् देशमा रहेको कूटनीतिक नियोगलाई निर्देशन भइसकेको छ ।
विदेशबाट फर्कने नागरिकलाई कसरी व्यवस्थापन गर्नेबारेमा केन्द्रले प्रारम्भिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले क्वारेन्टाइनको क्षमता र गुणस्तर एवं परीक्षणको दायरा बढाउन निर्देशन भएको जानकारी दिए ।
उनले भने, ‘पृतनाबाट कोरोना रोकथाम र उपचारका लागि प्रस्तुत गरिएको प्रारम्भिक योजनामाथि छलफल भएको छ । त्यसलाई परिमार्जन गरेर अघि बढ्ने भएको छ ।’
प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत उक्त केन्द्रमा पुगेर कोभिड नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी लिएका हुन् ।
लकडाउनको समयमा 'प्रेस कार्ड' बोकेर चोरी !
प्रेस कार्डको सहायताले लकडाउनको समयमा निर्वाध हिँडडुल र चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको इटहरी– १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने आश्रय रिजाल हिमाल, हम्मे भनिने हिमाल रसाइली र बाराको फूलबारी –३ घर भई काठमाडौंको ओमबहाल बस्ने अलि आलम मियालाई चाबहिल भत्केको पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
उनीहरूको साथबाट ल्यापटप, आइप्याड, मोबाइल लगायत सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नेपाली रूपैयाँ ५३ हजार, ३०० अमेरिकी डलर र २०० चाइनिज युआन समेत बरामद गरेको छ ।
काेराेना परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको बताएको छ।
केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने खबर सार्वजनिक भएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो। मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिएका हुन्।
काठमाडाैँबाट १६५ भारतीय नागरिक बोकेर फर्कियो एयर इण्डिया
भारतले नेपालमा लकडाउनका कारण रोकिएका १ सय ६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ।
भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले बुधबार दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता लगेको हो। यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो।
एयर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए। यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन्। सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ। पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ। सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो। यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबारसम्म उद्धार र कार्गो उडान गरी ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।
कोेरोनाको संक्रमण रोकथामका लागि गत चैतबाट हवाइ उडान ठप्प रहेकोमा पछिल्लो समय जेठ १८ सम्म बन्द गरिएको थियो।
तर, कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि समितिले उडानमा लगाइएको रोकलाई निरन्तरता दिएको हो।
लकडाउन जेठ २० गतेसम्म लब्याउने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरिसकेको छ।