
रत्ननगर, चितवन, १३ वैशाख । स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर शुरु भएको हतियार सङ्कलन अभियान अन्तरगत चितवनमा अहिलेसम्म जम्मा २२ वटा हतियार सङ्कलन भएको छ ।
जिल्लामा दर्ता भएका २०४ वटा हतियार मध्ये आजसम्म २२ वटा हतियार मात्रै प्रहरीमा आईपुगेको चितवन प्रहरीले जनाएको छ । आईपुगेका हतियारमध्ये दुई वटा भरुवा बन्दुक भने दर्ता नभएका रहेको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।
हतियार संकलन अभियान जारी रहेको जानकारी दिंदै उहाँले वैशाख १५ पछि भने प्रहरी परिचालन गरेर घरघरै खोजी अभियान चलाउने बताउनुभयो ।
अहिलेसम्म कुल २०४ वटा हतियार दर्ता भएकामा ११५ वटा हतियार मात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालयका नायव सब्बा हरिबाबु ढकालले जानकारी दिनुभयो ।
प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विष्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।
निर्वाचनमा हतियारको प्रयोग हुन सक्ने भन्दै सम्भावित खतरा रोक्न प्रहरीले अहिले विभिन्न संकासपद क्षेत्रमा प्रहरी परिचालन गर्ने, सुराकीबाट सूचना संकलन गर्ने र सिमा नाका क्षेत्रमा निगरानी बढाउने गरेको प्रहरी उपरीक्षक दिपक थापाले बताउनुभयो।
तोकिएको समयसिमा भित्र नबुझाई लुकाई छिपाई राखेको पाईएमा कानून अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।