
काठमाडौं, १३ वैशाख — उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको भोलिपल्ट दक्षिण कोरियाले बुधवार अमेरिकी क्षेप्यास्त्र सुरक्षा प्रणालीका महत्त्वपूर्ण भागहरू जडान गरेको छ ।

दक्षिणले थाड प्रणाली जडान गरेको सार्वजनिक घोषणा गरेसँगै कोरियाली प्रायद्वीपमा तनाव झन् बढेको छ । अमेरिकी जलसेना प्रायद्वीपमा भेला हुँदा उत्तरले आणविक तथा क्षेप्यास्त्र परीक्षणको सम्भावना देखाएको छ ।
मंगलवार कोरियाली पिपुल्स आर्मीको ८५औं वार्षिकोत्सवमा उत्तर कोरियाले लाइभ फायर आर्टिलरी ड्रिल नामक सैन्य अभ्यासहरू गरेको छ । हिजै अमेरिकाको निर्देशित क्षेप्यास्त्र प्रहार गर्ने पनडुब्बी दक्षिण कोरियामा आइपुगेको छ ।
अनि विमानवाहक युएसएस कार्ल भिन्सन पनि दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासका लागि प्रायद्वीपतिर लागेको छ ।
अमेरिकी थाड प्रणाली जडान गर्ने कार्यले उत्तर कोरियालाई मात्र नभई चीन र रुसलाई पनि क्रुद्ध बनाएको छ । चीन र रुसले थाडका कारण आफूहरूको सुरक्षामा चुनौती आइलागेको महसूस गरेका छन् ।
यसरी थाड जडानको स्थितिमा पुगेकोमा चीन उत्तर कोरियाबाट चरम निराश भएको छ ।
द वाशिङटन पोस्टबाट