
कर्णाली प्रदेशमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
भारतबाट आएका २ जनामा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा गुराँस गाउँपालिका दैलेखका २४ र २५ वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जेठ ७ गते कर्णाली भित्रिएका १ हजार ७०० व्यक्तिसँगै भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएको बताए ।
हाल दुवै जना संक्रमितलाई दैलेख अस्पतालले निर्माण गरेको सरस्वती माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । डा. तिवारीका अनुसार कर्णालीमा कोरोना संक्रमण देखिएका ११ जनामध्ये ४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको छ ।
आइतवार साँझ कर्णाली प्रदेशमा पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म दैलेखमा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ ।