
भारतबाट कर्णाली प्रदेश प्रवेश गर्ने नाका बबई पुगेका सुर्खेतको चौकुने गाउँपालिकाका ३ जनामा मंगलवार बिहान ११ बजे आरडीटी जाँच गर्दा रिपोर्ट ‘पोजेटिभ’ देखियो ।
पोजेटिभ देखिएकालाई बबई नाकामै राखेर अरुलाई सम्बन्धित स्थानीय तहमा पठाइयो । तर आरडीटी पोजेटिभ देखिएका व्यक्तिलाई वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनसम्म कसरी पुर्याउने भन्ने सकस भयो ।
पोजेटिभ देखिएको भएर बसहरूले लैजान मानेनन् । प्रदेश सरकार र प्रहरीसँग छुट्टै एम्बुलेन्स वा सवारीसाधन उपलब्ध भएनन् । बबई नाकामा खटिएका प्रहरीले चाडोभन्दा चाडो उद्धार गरेर क्वारेन्टाइनमा पुर्याइदिन जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेत र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बारम्बार फोन गर्यो तर कसैले सुनुवाइ गरेनन् ।
केही समाधान ननिस्किएपछि प्रहरीले राति ११ बजे अर्कै बसको छतमा राखेर ती व्यक्तिहरूलाई वीरेन्द्रनगर ल्याएर क्वारेन्टाईनमा राख्यो ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रहरीलाई खटाइएको भएपनि आवश्यक एम्बुलेन्स र स्रोतसाधन उपलब्ध नगराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (इन्सपेक्टर) भरत शाहले बताए । कर्णालीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
फिल्डमा काम गर्ने प्रहरीलाई बबई र सुब्बाकुनामा अनिवार्य पीपीई सेट चाहिने भएपनि हालसम्म नदिइएको शाहले बताए । ‘दैनिक आरडीटी जाँचमा पोजेटिभ देखिइरहेका छन् । साधनस्रोत छैन । मास्क ग्लोब्स टाढाको कुरा हो,’ उनले गुनासो गरे, ‘मान्छे धेरै आउने, भोकाएर आउँदा खाना छैन, शौचालय छैन, कर्णालीवासीलाई थेग्न धेरै गाह्रो भएको छ,’ उनले भने ।