
चीनले प्रातास टापुसमूहमा दुईवटा नयाँ युद्धपोत (एयरक्राफ्ट क्यारियर्स) तैनाथ गर्ने भएको छ । अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा चीनले ताइवानमाथि आक्रमण गर्नसक्ने आकलन हुँदै गर्दा युद्धपोत तैनाथी गरिएको हो ।
युद्धपोतहरू लियाओनिङ र शानदोङ अहिले पीत सागरको बोहाइ बेमा छन् र युद्धका लागि तम्तयार भएर बसेका छन् । चीनका प्रधानमन्त्री ली खछ्याङले ताइवानसँग पुनः एकीकरण गर्ने बेइजिङको इच्छा रहेको बताएपछि यो नयाँ कदम चालिएको हो ।
चीनलाई अल्पसंख्यक उइगुर समुदायको जासूसी गर्नका लागि सहयोग गरेको भन्दै अमेरिकाले ३३ वटा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरेपछि चीनले युद्धपोत तैनाथी गरेको हो ।
कोरोनाभाइरसको उत्पत्तिका विषयमा भएको विवादका कारण चीन र अमेरिकाबीचको तनाव बढिरहेको छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीले अमेरिकाको प्रतिबन्धले नयाँ शीतयुद्धको खतरा जन्माएको चेतावनी दिएका थिए ।
अमेरिकाको ट्रम्प प्रशासनले कोरोनाभाइरसको व्यवस्थापनमा चुकेको भन्दै चीनको आलोचना गरिरहेको छ भने बेइजिङले चाहिँ वाशिङटन प्रोपागाण्डा फैलाइरहेको बताएको छ ।