
काठमाडौं, १७ मंसिर — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आफूविरुद्ध लगाएको प्रतिबन्धलाई उत्तर कोरियाले बहिष्कार गरेको छ । बिहीवार एउटा क्रुद्ध वक्तव्य निकाल्दै उत्तर कोरियाले सुरक्षा परिषद्का सदस्यहरू अमेरिकाको कठपुतली भएको आरोप लगायो ।

यसैबीच दक्षिण कोरिया र जापानले उत्तर कोरियामाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । विदेशी क्षेप्यास्त्र तथा आणविक विज्ञको भ्रमणमा पनि प्रतिबन्ध लगाइएको छ ।
सुरक्षा परिषद्ले बुधवार एकमतले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कठोर प्रतिबन्ध लगाउने मत दिएको थियो । उसको ८० करोड डलर बराबरको कोइला तथा तामा निर्यातमाथि प्रतिबन्ध लगाइएको छ ।
उत्तर कोरियाले गत सेप्टेम्बर महिनामा आणविक क्षेप्यास्त्र परीक्षण गरेको थियो र यो उसको अहिलेसम्मकै शक्तिशाली हतियार हो । यसैका कारण सुरक्षा परिषद्ले उसमाथि प्रतिबन्ध लगाएको हो ।
हिजो निकालेको वक्तव्यमा उत्तर कोरियाले सुरक्षा परिषद्का सदस्यहरूले आणविक परीक्षण र क्षेप्यास्त्र प्रहार गरिसकेको उल्लेख गरेको छ ।
‘ओबामा र उनका चम्चाहरूले उत्तर कोरिया यस्तो प्रतिबन्धबाट डराएर आणविक हतियार निर्माणबाट पछि हट्छ भन्ने सोचेका हुन् भने त्यो उनीहरूको महाभूल हो,’ वक्तव्यमा लेखिएको छ ।
यसैबीच उत्तर कोरियाको निर्यातमा प्रतिबन्ध लगाउनुका अलावा दक्षिण कोरियाले त्यहाँका उच्च अधिकारीहरूलाई कालोसूचीमा राख्ने बताएको छ ।
सीएनएन