रौतहट, १४ वैशाख– स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार रौतहट प्रहरीले हिरासतमा लिएको छ ।
जिल्ला अदालत रूपन्देहीले उनलाई साधारण तारेखमा रिहाइ गरेपछि प्रहरीले रौतहट ल्याएको हो । उनको मुद्दा जिल्ला अदालत गौरमासमेत चलिरहेको छ ।
जिल्ला अदालत रौतहटमा राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधको मुद्दा विचाराधीन रहेकाले रौतहट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पहिलेदेखि नै जिल्ला अदालत गौरमा मुद्दा दायर भएकाले रूपन्देहीबाट ओसार गरेर रौतहट ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कृष्ण भण्डारीले बताए ।
राउतलाई बुधबार नै जिल्ला अदालत गौरमा पेश गरिएको भए पनि समय अभावका कारण उनको बयान हुन सकेन ।
यसअघि सोही मुद्दामा पक्राउ परेका रामकेश गुप्तालाई २५ हजार र अन्य ५ जनालाई १०⁄१० हजार धरौटीमा जिल्ला अदालत गौरले तारिखमा राखेको थियो ।