चीनको क्वाङ्सी प्रान्तमा रहेको बालबालिकाको विद्यालयमा बिहीवार सुरक्षागार्डले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा ३९ जना घाइते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । घटनाको मकसद खुलेको छैन ।
विगत केही वर्षयता चीनका विद्यालयहरूमा यस्ता किसिमका आक्रमण हुने गरेका छन् । कुनै प्रतिशोधको भाव बोकेका वा मानसिक समस्या भएका मानिसमाथि अधिकारीहरूले दोष थोपर्ने गरेका छन् ।
आजको आक्रमणमा ३७ जना बालबालिका विद्यार्थी र दुई वयस्क परेको स्थानीय सरकारले जनाएको छ । उनीहरूमध्ये केहीलाई गम्भीर चोटपटक लागेको छ ।
चिनियाँ सञ्चारमाध्यले आक्रमणकारीको थर ली भएको पत्ता लगाएको छ । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको जानकारी दिइएको छ ।
सन् २०१८ मा पनि यस्तै किसिमको सामूहिक आक्रमण भएको थियो । अनि सन् २०१० मा विभिन्न विद्यालयमा गरिएका आक्रमणमा लगभग २० विद्यार्थी मारिएका थिए । त्यसपछि शीर्ष अधिकारीहरूले कदम चालेका थिए अनि विद्यालयहरूले थप गेट र सुरक्षागार्ड राखेका थिए ।
चिनियाँ कानूनले हातहतियार बिक्री गर्न र राख्न प्रतिबन्ध लगाएको छ । सामूहिक आक्रमणहरू प्रायः चक्कु वा घरैमा बनाइएका बमले गरिने गरेको छ ।