
काठमाडौं महानगरले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक सबै (१ हजार ९८२ जना) को कोरोना बीमा गराएको छ ।
जेठ २२ गते बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेर बीमा गराएको हो । सम्झौतामा महानगरबातर्फबाट प्रशासन बिभागका प्रमुख नमराज ढकाल र लिमिटेडकातर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरे ।
अनुकुल प्रतिकुल जुनसुकै समयमा पनि सेवाग्राहीका बीचमा कसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘हामीले जनप्रतिनिधि र सबै कर्मचारीरुको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएका छौं ।’
यसले महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुन सक्ने जोखिममा धेरै थोरै जति भए पनि क्षतिपूर्ति निश्चित भएको छ, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।
सम्झौताबमोजिम आउँदो बर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिहरुमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलो पटक पोजेटिभ देखिए महानगरको सिफारिसमा १ लाख रुपैयाँ प्राप्त हुनेछ । लिमिटेडका मुख्य व्यवस्थापक कोइराला भन्छन्,‘सम्झौताको मुख्य शर्त यही हो ।’
महानगरका प्रशासन बिभागका प्रमुख ढकालकाअनुसार प्रति व्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर १ बर्षका लागि बीमा गरिएको हो । ढकालकाअनुसार महानगरमा १६० जना जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी अस्थायी करार र सञ्चार गरी १ हजार ७९२ जना जनशक्ति छन् ।