
रुसको एक पावर स्टेसनबाट २० हजार टन डिजेल चुहिएपछि आर्कटिक क्षेत्रको अम्बरनाया नदी रातै भएको छ ।
स्तब्ध बनाउने भिडियोमा उक्त नदीको पानी दूषित बनेको देखिन्छ । एकजना विज्ञले नदी सफा गर्न डेढ अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताए ।
प्रदूषण ग्रेट आर्कटिक स्टेट नेचर रिजर्भमा फैलिनसक्ने डर उत्पन्न भएको छ । यसले पुस्तौंसम्म माछालाई असर पार्ने बताइएको छ ।
अघिल्लो शुक्रवार साइबेरियाको शहर नोरिल्स्क बाहिर रहेको डिजेल खानी फुटेर नदीमा बगेको रुसको सरकारी वातावरण निगरानी निकायले जनायो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यस विपतको सामना गर्न संकटकाल घोषणा गरेका छन् ।
पुटिनले यसरी तेल चुहिएको घटनाका बारेमा आफूलाई जानकारी नदिइएकोमा आक्रोश व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा जानकारी पाएको भन्दै पुटिनले अधिकारीहरू र तेल व्यवस्थापकहरूलाई भिडियो कन्फरेन्स कलमा थर्काए ।
घटनास्थलको भिडियो हेर्दा नदी रातै भएको र डिजेलको विषाक्त पत्र जमेको देखिन्छ ।
यसलाई हटाउनका लागि आगो लगाउनुको विकल्प नरहेको भनी अधिकारीहरू डराएका छन् किनकि त्यसो गर्दा वातावरण झनै विनाश हुन्छ ।