
काठमाडौं, १४ वैशाख –नेपाल टेलिकमले धादिङको उत्तरी भेगका विकट स्थानहरू लापा र टिप्लिङ्गमा जिएसएम सञ्चालनमा ल्याएको छ । ती स्थानहरूमा विटिएस स्थापना गरी बुधवारदेखि जिएसएम सेवा सञ्चालनमा ल्याएको हो । ती स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।
लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करीव तीन हजार घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । लापा धादिङबेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा अवस्थित छ ।
टिप्लिङमा स्थापित विटिएसबाट टिप्लिङ्गल र सेरटुङ्गलगायत नजिकका गाउँका करीव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित भएका छन् । टिप्लिङ्ग धादिङ वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ ।
दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।
प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।